धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको एमडी÷एमएचको नेपाली विद्यार्थीहरुको लागि थप ३ वटा सिट समायोजना गरिएको छ । विदेशी विद्यार्थीहरुले पाउने ३ वटा सिट नेपाली विद्यार्थीहरुको लागि समायोजन गरिएको हो ।
१५० ५० वटा सिटमा विदेशी विद्यार्थीहरुले पाउने २६ वटा सिटबाट ३ वटा कटौती गरेर नेपालीलाई दिए पछि उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा लागेको ताला पनि आजदेखि खुलेको छ ।
प्रतिष्ठान पदाधिकारी र आन्दोलनरत पक्षबीच ५ बुँदे सहमति भएको थियो । जुनियर रेसिडेण्टल चिकित्सकहरुले विदेशीको सिट घटाउन माग गदैं आन्दोलन गरेका थिए । सर्जरी, पेडियाट्रिक र इन्टरनल मेडिसिनमा नेपाली विदेशी कोटाबाट एक एक वटा विदेशी सिट कम गरेर नेपाली विद्यार्थीलाई दिने सहमति भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।
इन्टरनल मेडिसिनको कुल ६ सिटमध्ये नेपालीलाई ३ वटा र विदेशीलाई ३ वटा, पेडियाट्रिकमा कुल ५ सिटमध्ये नेपालीलाई ३ वटा र विदेशीलाई २ वटा,सर्जरीको कुल ५ सिटमध्ये ३ वटा नेपाली र २ वटा कोटा विदेशीलाई दिइने भएको छ ।
यो सहमतिबाट प्रतिष्ठानलाई करिव ५ करोड नोक्सान व्यहोर्नु पर्ने प्रतिष्ठान प्रशासनले जनाएको छ । सरकारले चिकित्सक, नर्स र कर्मचारीहरु कसैको पनि तलब, भत्तासहित सञ्चालन खर्च उपलब्ध नगराउने भएकोले आम्दानीको स्रोत विदेशी विद्यार्थी भर्ना गर्न बाध्य हुनुपरेको सह–प्रवक्ता डा. ऐरले जानकारी दिए । विदेशी विद्यार्थीहरु एमडि एमएसमा प्रति विद्यार्थी १ करोड ५० लाख तिर्छन् । तर नेपाली विद्यार्थीहरुलाई भने निःशुल्क पढ्न व्यवस्था मिलाइएको छ ।