धरान/ मोरङको रतुवामाई नगरपालिकाको ६ नं वडा स्थित सौंठामा बीपी नेत्र प्रतिष्ठानको आँखा, नाक, कान र घाटी सम्बन्धी उपचार सेवा शुरु भएको छ । रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राइले शनिबार एक कार्यक्रमका बीच उपचार सेवाको औपचारिक उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नगरप्रमुख रविन राईले उपचार सेवाको शुरुवातसँगै मोरङको रतुवामाईलगायतका यस भेगका मानिसहरूको आँखा, नाक, कान र घाँटी सम्बन्धी सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

उनले यसलाई विस्तार गर्दै आँखा, नाक, कान र घाँटी सम्बन्धी जटिल किसिमको उपचार गर्ने गरी क्ष्मताको विकास गरिने बताए । प्रतिष्ठानलाई अपाङ्ग पुनस्र्थापना केन्द्रको रूपमा समेत विकास गरिने योजना रहेको बताइएको छ ।

कार्यक्रममा बीपी नेत्र प्रतिष्ठान स्थानीय निर्माण तथा व्यवस्थापन कार्यसमितिका अध्यक्ष खड्ग चोङवाङले प्रतिष्ठानको निर्माणाधीन संरचना सम्पन्न गरी अझ सुविधा सम्पन्न र सहज ढङ्गले उपचार सेवा प्रदान गरिने बताए ।

बीपी नेत्र प्रतिष्ठानको अस्पतालको स्थापनाका लागि स्थानीय बासिन्दाहरूले १६ कठा जगा उपलब्ध गराएको स्थानमा संरचना निर्माण सम्पन्न नभइञ्जेलका लागि प्रतिष्ठानले सौंठा स्थित नेपाल रेडक्रस सोसाइटीको भवन बाट सेवा सञ्चालन गर्नेछ ।

कार्यक्रममा स्थानीय समाजसेवी, रतुवामाई नगरपालिकाका जनप्रतिनिधि हरू, शिक्षण संस्थाका प्रतिनिधिहरू, सहकारी संस्थाका प्रतिनिधिहरू, विभिन्न्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिनिधिहरूले रतुवामाईमा शुरु भएको बीपी नेत्र प्रतिष्ठानको आँखा, नाक, कान र घाँटी सम्बन्धी उपचार सेवाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।