धरान/अनुगमनलाई प्रभावकारी बनाउन ‘छड्के तथा फलोअप’ गर्नुपर्ने अनुगमनमा सहभागी अधिकारीहरूले बताएका छन् ।

धरान उपमहानगरको अनुगमन समितिले गरेको एक साता लामो अनुगमनको समीक्षात्मक कार्यक्रममा सहभागी अधिकारीले अनुगमन गरेर मात्रै नहुने बताएका हुन् । अनुगमन गरिएको पसल तथा होटलहरूमा पुनः छड्के जाँच गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कृष्ण ताम्राकारले बताए । उनले भने, ‘छड्के चेकजाँच गर्नैपर्छ, सचेत गराइएकाहरूले के गरिरहेका छन् । निरन्तर फलोअप गर्नुपर्छ । अनिमात्रै सुधार हुन्छ ।’

सचेत गराएका पसल तथा होटलहरूमा पुनः अनुगमन तथा जाँच नर्गदा अनुगमन प्रभावकारी नभएको उनको दाबी थियो । ‘पसलमा जाँच गर्छौ, तर हामी पुनः चेक गर्दैनौं’ उनले भने, ‘यो हाम्रो कमजोरी हो, यसलाई सुधार गर्नुपर्छ ।’ अनुगमनमा सहभागीमध्येकै पत्रकार गोविन्द बस्नेतले पनि फलोअप र छड्के जाँच नगरेका कारण पनि निदान हुन नसकेको टिप्पणी गरे । धरान उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कविराज रामबाबु यादवले एक सातामा ५० वटा होटल तथा पसलमा अनुगमन गर्दा सबैमा कैफियत भेटिएको दाबी गरे । ‘हरेक पसलमा कैफियत भेटिएको छ । यसमा पसलवाला दोषी छन्, हामी पनि दोषी छौं, उपभोक्ता पनि दोषी छन्’ उनले भने । उनले नगरपालिकाले निरन्तर फलोअप गर्ने प्रतिवद्धता पनि गरे ।

मौसमी अनुगमन भएको भन्दै तीव्र आलोचना भइरहेका बेला धरान उपमहानगरले अनुगमनसम्बन्धी निर्देशिका नै लागू गरेर अनुगमन गरिरहेको दाबी गरेको छ । नगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद कोइरालाले धरानमा रहेका खाद्य तथा अन्य उद्योग जहाँबाट उत्पादन हुन्छ त्यहाँ पनि अनुगमन गरेर सचेत गराउन आवश्यक रहेको बताए ।

अनुगमनका क्रममा अधिकांस पसल तथा होटलमा राखिएका बिस्कुटजन्य वस्तुहरूमा उत्पादन मिति, म्याद सकिने मितिलगायत नराखेको पाइएको थियो । उनले त्यसप्रति लक्षित गर्दै भने, ‘बिस्कुटलगायत धरानमा के–के उद्योगहरू छन् । त्यसमा गएर नै उद्योगीहरूलाई सचेत गराउनुपर्छ ।’ धरान उपमहानगरका वातावरण अधिकृत भेषराज घिमिरेले विगत वर्षमा ६६ वटा मासु पसलमा अनुगमन गर्दा फोहोर भेटिएको भए पनि अहिले सुधारात्मक अवस्थामा रहेको बताए । उनले भने, ‘मासु पसललाई धेरै गहिरिएर कारबाही गर्नुभन्दा सुधारको पहल गर्नुपर्छ ।’

धरानमा झण्डै साढे ४ सयको हाराहारीमा मासु पसल रहे पनि कतिपय दर्ताको प्रक्रियामै नरहेकाले त्यस्ता पसललाई दर्ताको प्रक्रियामा ल्याउनुपर्ने बताए । धरान उपमहानगर प्रशासन महाशाखाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले अनुगमनलाई निरन्तरता दिने बताए । ‘योजना बनाएर जान्छौं, मासु पसलमा निर्देशिकालाई फलो गर्र्छौं’–उनले भने, ‘एकपटक अनुगमन गरिसकेका पसल तथा होटलमा चाहिँ सचेत गराउने हो कि कारबाहीमै जाने हो त्यो योजना बनाउने छौं ।’