वराहक्षेत्र । आइतबार सप्तकोसी नदीमा पानीबोट दुर्घटना हुँदा एक बालिकासहित ३ जनाको ज्यान गएको छ भने ३ जना वेपत्ता भएका छन् ।
धनकुटा जिल्लाको त्रिवेणीमा दिउँसो करिब २ बजेतिर पानीवोट दुर्घटना हुँदा ज्यान गुमाउनेमा सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा–१ की ५२ वर्षकी लीला राई रहेकी छन् ।
ज्यान गुमाउनेहरूमा ७ वर्षकी बालिका आर्याहाङ राई र अन्दाजी ५५ वर्षीय पुरुष रहेको धनकुटा जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी इन्स्पेक्टर पान्डब राजवंशीले जानकारी दिए । ज्यान गुमाउने पुरुषको पहिचान खुल्न सकेको छैन । गम्भीर घाइते भएका उनीहरूको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनीहरुको शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको चतरा अस्पतालका सहायक प्रशासक टीकाराम राईले जानकारी दिए ।
दुर्घटनामा कन्काई न.पा.वडा नं.४ बस्ने नीता मगरको छोरा बर्ष–७ को शिवक मगर, बराहक्षेत्र न.पा.१ बस्ने बर्ष–२१ कि प्रमिला मगर र बर्ष–२२ की मनु राई वेपत्ता भएको इन्स्पेक्टर राजवंशीले बताए ।
भोजपुर हतुवागढी गा.पा.४ बस्ने ३१ वर्षको मोहन सुनार चतरा अस्पतालमा उपचारत रहेका छन्। भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको वडा–९ कोपचेबाट १५ जना यात्रु लिएर बराहक्षेत्रतर्फ आउँदै गरेको ओबिएम कम्पनीको पानीबोटको ब्रेक फेल भएपछि दुर्घटना भएको बताइन्छ ।
दुर्घटनालगत्तै गएको महेन्द्रनगर चक्रघट्टी, चतरा, उदयपुर र धनकुटाको प्रहरी टोली र चतरा सशस्त्र प्रहरी टोलीले १२ जनालाई उद्धार गरेका थिए । पानीबोटमा रहेका यात्रुहरू धेरै जना भोजपुरवासी रहेको जनाइएको छ ।
हतुवागढी गा.पाको सोही वडाका ४५ वर्षका विष्णु सुनार, वर्ष ४२ की तीर्था रसाइली सुनार, २५ वर्षकी पूजा तिरुवा, वर्ष २२ को प्रज्ज्वल तिरुवा र जिल्ला झापा जिल्लाको कन्काई न.पा वडा नं.४ बस्ने २९ वर्ष कि निता मगर उपचार पछि घर फर्किएका छन् ।
२६ वर्षका देवेन्द्र राई र वर्ष २३ का रन्जित राई पौडी खेलेर सकुशल निस्किएका थिए । दुर्घटनामा पानी बोट चालक वराहक्षेत्र–१ बस्ने २४ वर्षीय सुमन मगरलाई प्रहरी चौकी वराहक्षेत्रले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
तस्बिरः सामाजिक सन्जाल































