इटहरी/ केही वर्षयता भ्रष्टाचारजन्य गतिविधि अचाक्ली बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा परेको उजुरीको चाङले देखाउँछ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले आयोजना गरेको कार्यक्रममा कार्यालयका अख्तियारमा उजुरीको सङ्ख्या बढेको बताइएको छ ।

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदो अवस्थामा रहेको भन्दै कार्यक्रमका सहभागीले चिन्ता व्यक्त गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा १३ सय ६५ वटा उजुरी परेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको ८ सय ६५ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख चक्र बुढाले बताए ।

सबैभन्दा धेरै सप्तरीको उजुरी कार्यालयमा परेको अख्तियार कार्यालय इटहरीले जनाएको छ । त्यस्तै दोस्रोमा सुनसरी, तेस्रोमा मोरङ र चौथोमा झापा रहेको प्रमुख बुढाले बताए । अहिले १ हजार ९० वटा मुद्दा अनुसन्धानकै क्रममा रहेको उनले बताए ।

अख्तियार इटहरीले चालू आर्थिक वर्षमा ८ जनालाई घूससहित रङ्गेहात पक्राउ गरेको जनाएको छ । पछिल्लो समय सबैभन्दा बढी स्थानीय तहमा भ्रष्टाचार भयो भन्दै उजुरी पर्ने गरेको कार्यालयको तथ्याङ्कले देखाउँछ । शिक्षा, जग्गा–जमिन, सामुदायिक वन र भौतिक पूर्वाधार अन्तर्गतको कार्यालयहरूको धेरै उजुरी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयका इटहरीका प्रमुख बुढाले भ्रष्टाचारको उजुरी दिनानु दिन बढिरहेको भन्दै भ्रष्टाचारीलाई कारबाही गरिने बताए । अनुसन्धानको दायरामा ल्याएर अख्तियार प्रमाण जुटाउने काममा सक्रिय भइरहेको उनको भनाइ छ । ‘हामी थप सक्रिय बन्दैछौं’–उनले भने । कार्यक्रममा स्थानीय तहका प्रमुखहरूसँगै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बेकामे उजुरी धेरै
अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयमा अधिकांश बेकामे उजुरी पर्ने गरेका छन् । पछिल्लो एक वर्षमा परेका उजुरीको सङ्ख्याको आधारलाई हेर्दा लगभग ५० प्रतिशत उजुरी कामै नलाग्ने गरेको अख्तियारले जनाएको छ । चरित्रहत्या र बदनाम गर्ने हिसाबले पनि अख्तियारमा उजुरी पर्ने गरेको अख्तियारले जनाएको छ ।

आयोगको क्षेत्रीय कार्यालय इटहरीमा स्थापनाको समयमा उजुरी परेकामध्ये धेरै बेकामे उजुरी परेको अख्तियारले जनाएको छ । आयोगको इटहरीस्थित कार्यालयका अनुसार स्थापनाकाल ०७०÷७१ मा १ हजार ३ सय ३२, ०७१/७२ मा १ हजार ५ सय ६७ र ०७२/७३ को ९ सय ७६ वटा उजुरी परेको थियो ।

उजुरी फछ्र्यौटको अवस्था सुस्त
धनकुटा र इटहरीमा आयोगको कार्यालय स्थापना आएसँगै भ्रष्टाचार र अनियमितितासँग जोडिएको उजुरीको चाङ बढे पनि तुलनात्मक रूपमा मुद्दा फछ्र्याेटकोे अवस्था भने सुस्त रहने गरेको छ ।

अहिले कार्यालयमा परेको उजुरीमध्ये १ हजार ९० उजुरी फछ्र्याेट हुन बाँकी छ । नेपालमा भ्रष्टाचार दिनानु दिन बढिरहेको छ । भ्रष्टाचार रोक्न स्थापित संस्थाले पनि सोचेजस्तो काम गर्न नसकेको सर्वसाधारणको आरोप छ । सानातिना कर्मचारीहरूलाई भ्रष्टाचारको अभियोगमा रङ्गेहात पक्राउ गरेर धेरै हल्ला गर्ने अख्तियारले ठूला भ्रष्टाचारीहरूसम्म अख्तियार पुग्न नसकेको जनमानसको आरोप सर्वसाधारणले लगाउँदै आएका छन् ।

अख्तियारले आफ्नो झिना–मसिना कार्यमा अल्झिएर तल्लोस्तरका कर्मचारी र व्यक्तिहरूलाई दुःख मात्र दिई वास्तविक भ्रष्टाचारीसम्म पुगी उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सर्वसाधारण बताउँछन् ।