धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा समस्यै समस्याको चाङ छ । तर पुस २५ मा बस्ने प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) बैठकमा महŒवपूर्ण विषयले प्रवेश नपाउने भएका छन् ।

सरकारको योजनामै परिसकेका अङ्कोलोजी, कार्डियोलोजीलगायतका भवन निर्माण हुँदाहुँदै अलपत्र छन् । प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामीको चाप थामिनसक्नु छ भने प्रसूति विभागमा ठाउँ नहुँदा सुत्केरी र बच्चाले राम्रो उपचार पाउन सकेका छैनन् । कतिले बाहिरै बच्चा जन्माएका घटनासमेत सार्वजनिक भएका थिए । तर प्रतिष्ठानका यी लगायतका महŒवपूर्ण विषयले बैठकमा प्रवेश नपाउने भएका छन् ।

एक सिनेट सदस्यका अनुसार बैठक प्रस्तावमा तलब, छनोट समितिजस्ता कर्मकाण्डी योजना मात्र छन् । प्रतिष्ठान उपकुलपति र रजिष्ट्रारविहीन छ । उपकुलपति रौनियार घूस रकमसहित पक्राउ परेका थिए भने रजिष्ट्रार तुलबहादुर श्रेष्ठ आर्थिक अनियमितता आरोपमा निलम्बनमा परेका छन् । उपकुलपति र रजिष्ट्रारको विषयमा भने छलफल हुने बताइएको छ ।

प्रतिष्ठानको कार्यकारिणी समितिले सिनेट सदस्यमा उद्योगी तथा व्यापारीको कोटाबाट धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) सिफारिस भएकी छन् । प्रतिष्ठानको ऐनमा ‘प्रतिष्ठित विद्वान, समाजसेवी, उद्योगपति तथा व्यापारीमध्येबाट कार्यकारिणी समितिको सिफारिसमा सह–कुलपतिले मनोनित गरेका बढीमा दुईजना सदस्य रहने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा उपमेयर भण्डारी र मोरङका प्रदेश सांसद् राजकुमार ओझालाई पनि सिफारिस गरेको छ । उनीहरूलाई उपकुलपति अध्यक्ष रहने कार्यकारिणी समितिले सिफारिस गरेको हो ।

प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार घूससहित अख्तियारबाट पक्राउ परेपछि शिक्षाध्यक्ष गुरुप्रसाद खनाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ । धरान उपमहानगरपालिकाको मेयर सिनेटको पदेन सदस्य रहने व्यवस्था ऐनमा छ । मेयर तिलक राई सिनेट सदस्य हुँदाहुँदै राजनीतिक चलखेलमा उपमेयरलाई पनि जबरजस्ती व्यापारीको कोटाबाट सदस्यमा सिफारिस गरिएपछि केही सिनेट सदस्यहरूले नै असन्तुष्टि जनाएका छन् । नाम उल्लेख गर्न नचाहने एक सिनेट सदस्यले भने, ‘उपमेयर भण्डारी न प्रतिष्ठित विद्वान हुन्, न उद्योगी व्यापारी नै, यस्ता व्यक्तिलाई सिफारिस गरिनु हुन्न भनेर सदस्यहरूले आवाज उठाएका थिए तर उनी सिफारिसमा परिन् ।’

उपमेयर भण्डारीलाई सिनेट सदस्य बनाउन नेकपाका स्थानीय नेतासमेत रहेका उनका श्रीमान् मुरारी सुवेदी केही सातादेखि सक्रिय थिए । प्रतिष्ठानका सह–प्रवक्ता अशोक ऐर अहिले भण्डारी र ओझाको नाम सिफारिसमा मात्र परेको छ, सिनेट बैठकले नै अनुमोदन गर्ने अधिकार रहेको बताउँछन् । प्रतिष्ठानको सिनेट बैठक यही शुक्रबार बस्दै छ । यसअघि गत कात्तिक २२ गते सिनेट बैठक बस्ने सम्पूर्ण तयारी पूरा भए पनि अघिल्लो दिन तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्थगित गरेका थिए । प्रतिष्ठानको सिनेट बैठक नबसेको डेढ वर्ष बितिसकेको छ ।