सिराहा । सिरहा प्रहरीले डाँका मुद्दामा अदालतबाट छ वर्ष कैद सजाय पाएर फरारसहित लागुऔषध कारोवारमा संलग्न पाँच जनालाई एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सिरहाबाट डाँका मुद्दामा फरार ६ वर्ष कैद र रु एक लाख ८० हजार जरिवानाको सजाय पाएर फरार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय मोहम्मद मुस्तुफा हुसेन मियाँलाई हिजाे साँझ जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले पक्राउ गरेको हो । अदालतको गत २०७१ वैशाख ३० गतेको फैसला आदेश लगतै फरार मियाँलाई आफ्नै घर वतनमा लुकीछीपि बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

यस्तै ठूलो परिमाणमा लागुऔषधसहित  सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ९८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित सिरहाको सखुवानान्कर कट्टी गाउँपालिका–५ निवासी २३ वर्षीय मोहमद अजिम र सोही स्थानका २४ वर्षीय मोहमद हस्मत राईनलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैको साथबाट लागुऔषध नोर्फिन ४७ एम्पुल, प्रोमोथाइजिन ४७ एम्पुल, डाइजेपाम ४७ एम्पुल गरी १४१ एम्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । त्यस्तै इलाका प्रहरी कार्यलय माडर सिरहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स८प ४५३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सिरहा नगरपालिका–१७ बाट लागुऔषधसहित सिरहाको विष्णुपुर गाउँपालिका–२ निवासी २७ वर्षीय ब्रहमदेव यादव र मिर्चैया नगरपालिका–७ निवासी २५ वर्षीय सुली महरालाई लागुऔषध डाइलेक्स डिसी सात बोतलसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।