धरान/ पर्दामा रेस्लिङ भिडन्त हेरेर मज्जा लिने दर्शकहरू नेपालमा पनि बढिरहेका छन् ।

टेलिभिजनमा रक्ताम्य हुनेगरी कुटाकुट गरेका दृश्य देखिने रेस्लिङ विशेषगरी पुरुषहरूको खेलका रूपमा बढी परिचित छ । तर खोटाङमा हुर्किएकी अस्मिता सुनार भने रेस्लिङको रिङमा भिडिरहेकी छन् । उनी नेपालमा विभिन्न मेला महोत्सवदेखि विभिन्न रेस्लिङ खेलमा व्यस्त बनिरहेका छन् भने म्युजिक भिडियो र फिल्ममा पनि अभिनय गरिरहेकी छन् ।

रेस्लिङमा ‘जुरेली’ नामले चिनिने अस्मिताले धेरैवटा भिडियोमा मोडलिङ पनि गरेकी छन् । अस्मिताको परिचय भने मोडलभन्दा बढी रेस्लर हो अर्थात् रेस्लर अस्मिता जुरेली ।

टेलिभिजनका पर्दामा हेर्दै डरलाग्दा, खाइलाग्दा ज्यानका कुस्तीवाजहरू गर्जिंदै लडेको धेरैले हेर्ने गरेका छन् तर नेपालमा रेल्सिङ ? त्यसमाथि महिला, अझ हिरोइन जस्ती कल्कलाउँदी युवती । धेरैले अचम्म मानेर हेर्छन् अस्मितालाई । ‘त्यसरी कुटाइ खाँदा जिउ दुख्दैन ?’ उनको रेस्लिङ हेर्नेहरूले प्रश्नको वर्षा गर्छन्, ‘कतिको गाह्रो हुन्छ ?’, ‘चोट पनि लाग्दो हो नि ?’, ‘बरु फिल्मतिरै लाग्नु नि ।’

अस्मिता भिडियोमा नायिकामात्र होइन, नेपाली फिल्म भुलभुलैयामा खलनायिका पनि बनिन् । तर केही वर्षयता उनी चलचित्रका रङ्गीन पर्दाभन्दा बढी रेस्लिङका रिङमा आफ्नो भविष्य खोजिरहेकी छिन् । अहिले नेपालमा हुने गरेका सबै रेस्लिङमा अस्मिता पुगेकी हुन्छिन् । उनी भन्छिन्, ‘धेरै समस्याहरू छन् तर मैले यसैमा भविष्य देखिसकेकी छु ।’

नेपाली समाजले रेस्लिङजस्ता लड्ने भिड्ने खेललाई पुरुषकै पेवाका रूपमा लिन्छ । भर्खर पाइला सर्दै गरेको रेस्लिङमा एउटी युवतीको सङ्घर्ष धेरै हिसाबले चूनौतीपूर्ण छ । टेलिभिजनमा रेस्लिङ हेरेको अस्मिताको परिवारले पनि शुरुमा त उनलाई ‘त्यसरी रिङबाट घिसार्छन्, नखेल यस्तो खेल ।’ भनेर सम्झाए । शुरुमा उनलाई पनि खेल्दा हात मर्किने, चोट लाग्ने घटना धेरै भए । समाजले पनि नकारात्मक रूपमा हेरेको पाइन् अस्मिताले । उनी भन्छिन्, ‘अहिले दर्शकको माया पाएकी छु । परिवारदेखि समाजसम्मको नजर फेरिन थालेको छ तर चुनौती अझै बाँकी छन् ।’

खोटाङबाट एसएलसी पास गरेर राजधानी पसेकी अस्मिता पद्मकन्या क्याम्पसमा ब्याचलर पढ्दैछिन् । सानैदेखि केही फरक गर्न खोज्ने उनी शुरुमा तेक्वान्दो खेल्थिन् । उनका दाजु दिनेश सुनार पार्कर स्टण्ट गर्न थाले । अस्मिता पनि जिम्न्यास्टिक खेल्न थालिन् । पढाइसँगै खेल र मोडलिङ गरिरहेकी उनी एकदिन दाजु दिनेशसँगै नेपाली फिल्म हवल्दार सुन्तलीको सुटिङमा गइन् ।

फिल्ममा दाजु दिनेशसँगै फाइट गरिरहेकी नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) सँग उनको भेट भयो । अस्मिताको रुचि बुझेपछि युनिकाले आफ्ना गुरु भरतबहादुर विसुरालसँग भेट्टाइदिइन् । ‘हिमालयन टाइगर’ नामले अन्तर्राष्ट्रिय रेस्लिङ रिङमा समेत चिनिएका विसुराल उनका पनि गुरु बने । हेर्दै फुच्ची अस्मितालाई उनैले नाम राखिदिए ‘जुरेली’ । दुई महिनाको तालिमपछि अस्मिता ‘रेस्लर जुरेली’ बनिन् । अस्मिता सुनाउँछिन्, ‘उहाँहरूसँग भेट भएपछि मेरो लक्ष्य फेरियो, नयाँ परिचय पाएँ ।’