धरान । धरान प्रहरीले लकडाउन उल्लंघन गर्ने १ सय २५ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

प्रहरीले धरानका विभिन्न स्थानबाट लकडाउन अवाज्ञा गरेको आरोपमा एक सय २५ जनालाई नियन्त्रणमा लिइसकेको हो । यो तथ्यांक अपरान्ह ४ बजेसम्मको हो । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीका अनुसार पक्राउ पर्नेको संख्या अझै बढ्ने देखिएको छ । केही सवारीसमेत नियन्त्रणमा लिएको छ । जसमा मोटरसाइकल, स्कुटी, टेम्पु, सिटी सफारी र एउटा ट्रक रहेको छ ।

सरकारले मंगलबारदेखि देशव्यापी रुपमा लकडाउन घोषणा गरेको थियो । लकडाउन भए पनि धरानमा अधिकांस क्षेत्रमा मंगलबार उल्लंघन भएको पाइएपछि धरान उपमहानगरमा बैठक बस्दै बुधबारबाट पूर्ण लकडाउन गर्ने निर्णय गरेको थियो । जसमा जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि कफ्र्यु आदेश जारी गरेको छ । चैत ११ देखि चैत १८ गतेसम्मका लागि लकडाउन गरेको हो ।

यस अवधिभित्र देशबासीलाई घरभित्रै बसेर सहयोग गर्न सरकारले आग्रह गरेको छ । तर, सरकारको उक्त निर्णयलाई कतिपय अवस्थामा उल्लंघन भइरहेको पाइएपछि कारबाहीस्वरुप नियन्त्रणमा लिइरहेको हो । नेपालमा अहिलेसम्म तीन जनामा कोरोना भएको पुष्टि भइसकेको छ । विश्वभरि करिब ४ लाखको हाराहारीमा कोरोना संक्रमति पुगिसकेका छन् भने १६ हजारको हाराहारीमा मृत्यु भइसकेको छ ।

चीनको वुहान प्रान्तबाट तीन महिनाअघि फैलिएको कोरोनाको प्रभाव विश्वका १६९ देशमा देखिसकेको छ । पछिल्लो समय भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।