पथरी /  कानेपोखरी गाउँपालिकाले बैदेशिक रोजगारबाट घर आएकाहरुलाई होम क्वाराइन्टाइनमा राख्ने व्यवस्था सुरु गरेको छ ।
बुधबार पालिकाको जनशक्ति दुई समूह बनाई प्रत्येक वडाको घरघरमा गएर अवस्था जाँचबुझ गरी बैदेशिक रोजगार भारत, कतार, दुवई र साउदीलगाएत मुलुकबाट घर आएका व्यक्तिहरुको पहिचान गरी होम क्वारान्टाइनमा बस्ने वातावरण मिलाएको हो । तल्लो भेगका १, २, ३ र ४ नं. वडा वडाध्यक्ष सुशिल बुढाथोकीको संयोजकत्वमा ४ वटै वडाको सदस्य, राजनीतिक दल, रमाइलो प्रहरी चौकी र स्वास्थकर्मीलगाएतका टोलीले वडाहरु निगरानी गर्दै होम क्वाराइन्टाइनको व्यवस्था गरिदिने निर्णय भएको छ ।

त्यसैगरी माथिल्लो भेगका ५, ६ र ७ नं. वडाहरु वडाध्यक्ष चरण गुरुङको संयोजकत्वमा दईवडाध्यक्ष, कानेपोखरी प्रहरी चौकी, राजनीतिक दलका प्रतिनिधि र स्वास्थकर्मीको टोलीले तीनवडाको निगरानी गर्दै होम क्वाराइन्टाइनको व्यवस्था गर्ने व्यवस्था गाउँपालिकाले गरेको छ । सोही निर्णय अनुसार सुरुको दिन बुधबार माथिल्लो भेगमा पालिका अध्यक्ष ताराबहादुर काफ्लेसहितको टोलीले ५, ६ र ७ नं. वडाको घरघर गएर मास्क र पर्चा विचरण गर्दै विदेशबाट आएकाहरुक पहिचान गरेका थिए ।
त्यसैगरी तल्लो भेगमा उपाध्यक्ष राजमती इङ्नाम सहितको टोलीले १ देखी ४ सम्मको जनताको घरघरमा गएर मास्क र पर्चा वितरण गर्दै कोराना भाइरस सम्बन्धि बताउँर्दै विरामीको पहिचान गरेका थिए ।

आज मात्र होइन गाउँपालिकाले ५ दिन अघिबाट बैदेशिक रोजगारबा घर आएकाहरुलाई पालिकाको निगरानीमा राखेको थियो ।
टोलीले बैदेशीक रोजगारबाट घर आएकाहरुलाई घरको एक कोठामा छुट्टै बस्ने, ट्वाइलेट एक्लै प्रयोग गर्ने, परिवारसँग टाढा रहने, खानपिनलगाएत १४ दिन सम्म एकलै बस्ने वाताबरण मिलाएको गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले बताए । अहिले गाउँपाकिलामा १२ जना भन्दा वढी बैदेशिक रोजगारबाट गाउँपालिका भित्रिएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।