भद्रपुर । अतिविपन्न श्रमिक मजदुर परिवारको दैनिक जीवन गुजारामा समस्या भएपछि एकसय घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

भद्रपुर ९ चन्द्रगढीस्थित प्रज्ञा एकाडेमीले सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रगढी क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका परिवारलाई चामल तथा दाल वितरण गरेको हो । मजदुर परिवारको दैनिक जीवन गुजारामा समस्या भएपछि प्रतिपरिवार ५ किलो चामल र आधा केजी दाल वितरण गरिएको थियो । कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमण बढ्ने सम्भावना रोक्न सरकारले चैत ११ गतेबाट शुरु गरेको ‘लक डाउन’ का कारण दैनिक ज्यालादारी गर्नेहरूलाई साँझबिहान छाक टार्ने समस्या परेकाले विद्यालयले सामाजिक दायित्व स्वरूप नगर सरकारसित समन्वय गरी चामल वितरण गरेको संस्थापक÷प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिए ।

भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्व कार्यक्रममा भद्रपुर–१० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, वडासदस्य तुलसी पोखरेल, भद्रपुर–९ का कार्यवाहक वडाध्यक्ष राम दाहाल, वडा सदस्य नुतन पौडेल, विद्यालयका प्रिन्सिपल इशुभ पाण्डे, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल लगायतले सामग्री वितरण गरे । यसअघि विद्यालयले १५ सय मास्क चन्द्रगढी बजार क्षेत्रमा वितरण गरिसकेको छ ।