पथरी / मोरङको कानेपोखरी गाउँपालिकाले दैनिक ज्यालादारी गरिखाने घरपरिवारको पहिचान गरी राहत वितरण कार्यक्रम सुरु गरेको छ ।

बुधबार गाउँपालिकाले वडा नं. ७, बाट राहत वितरण सुरु गरेको हो । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नामले संयुक्तरुपमा राहत वितरणको उद्घाटन गरेको थियो । कार्यक्रममा वडाध्यक्ष मोहन प्रसाद अधिकारी, ६ नं. वडाध्यक्ष खड्ग बस्नेत, नेकपा पार्टी प्रतिनिधि भोला अधिकारी, नेकाबाट हिमप्रसाद तिम्सिना र प्रहरीको तर्फबाट असई सुमन श्रेष्ठको उपस्थितमा राहत वितरण गरेको थियो । बरगाच्छि चोकमा ६ घरलाई वितरण गरेपछि वडाध्यक्ष मोहन प्रसाद अधिकारीको नेतृत्वमा राहत घरघर पुर्याइएको थियो ।

गाउँपालिकाले ८० घरपरिवारलाई २० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान हात धुने साबुन राहतस्वरुप वितरण गरिएको थियो । यो राहत एक घरलाई १ हजार ५० रुपैया पर्न गएको छ । जनमुखी साकोसले २५ हजार र जनसम्र्पक साकोस, मातृभूमी कृषि सहकारी, दिगोपन सामाजीक उद्योम संस्थाहरुले १० हजारको दरले राहत वितरणको लागी आर्थिक सहयोग गर्ने भएपछि थप ४१ घरपरिवारलाई वडाकार्यालयले राहत वितरण गरेका थिए । विपन्न तथा दैनिक ज्यालादारीमा मजदुर गरेर खानेलाई एक परिवारमा १ जना र दुई जना मात्र भएको पहिचान गरी प्रत्येक परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान साबुन वितरण गरेको हो ।

वडा नं. १ मा ८० जना, २ मा २२५ जना, ३ मा १७५ जना, ४ मा १०० जना, ५ मा २५० जना, ६ मा १०० जना र ७ मा ८० जना गरी जम्मा १०१० जनालाई राहत वितरण गर्ने भएको छ । राहत पाउनेको संख्या बढेर जाने पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । वडा नं. ६ मा रहेको रमाइलो साकोस र जनएकता साकोसले ५४ हजार २ सय ५० हजार बराबरको सोही सामाग्री ५० घरपरिवारलाई पुग्ने गाउँपालिकालाई हस्तान्तरण गर्ने भएको छ ।