धरान / आजदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको छ ।
सरकारले गरेको निर्णय अनुसार सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा भने बन्द नै रहने छन । यसैगरी पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । तर सपिङ मलहरू भने खोल्न नपाइने ब्यवस्था गरिएको छ ।
यसैगरी रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।
सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।
विद्यालय तथा शैक्षिक संस्थाहरू भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।
यी हुन सञ्चालन गर्न नपाइने क्षेत्र
१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरू)
२. अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू ।
३. तोकिएको बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत जावत
४. सबै प्रकारका सभा, गोष्ठी, तालिम र सेमिनार ।
५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल
७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना ।
८. स्पा, सैलुन र ब्युटीपार्लर
१०. स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरू
११. सपिङ मलहरू
१२. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू
१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू
१४. यात्रुवाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।
१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोहीसँग सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधनबाहेकका अन्य निजी सवारी साधन।