- मिकाइल आलम
भण्टाबारी । सीमावर्ती क्षेत्रबाट लागूऔषध कारोबार बढेपछि त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । सुनसरीको सीमावर्ती क्षेत्रबाट लकडाउनको अवधिमा सीमा सिल हुँदासमेत लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको संख्या बढेपछि नियन्त्रण गर्न सीमामा तैनाथ सशस्त्र प्रहरीले सक्रियता देखाएको हो । नेपाल र भारतबीच कोभिड १९ नियन्त्रणका लागि विगत तीनमहिनायता सीमा सिल भएपनि जिल्लाका विभिन्न सीमा नाकाको चोरबाटो हुँदै लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको संख्या बढेपछि रोकथाम तथा नियन्त्रणका लागि ूस्टिङ्ग अप्रेसन संचालन गरेको सीमा सुरक्षा बल सुनसरीले जनाएको छ । पछिल्लो समय सीमामा सशस्त्र प्रहरीको व्यापक उपस्थिति पछि लागूऔषध कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् ।
धमाधम पक्राउ पर्दै कारोबारी
सुनसरी कोशी गाउँपालीका वार्ड नम्बर ५ स्थित श्रीपुरबाट बिहीबार अबेरराति सशस्त्र प्रहरीले ठुलो परिणाममा लागूऔषधसहित एकजनालाई पक्राउ गर्यो । भारतबाट लुकिछिपी अवैधरुपमा नेपालतर्फ लागुऔषध ल्याउदै गर्दा श्रीपुर स्थित बोर्डर क्षेत्रमा सशस्त्र प्रहरी बल बिओपी श्रीपुरबाट सुरक्षार्थ खटिईएको इन्स्पेक्टर पूर्णबहादुर दाहाल नेतृत्वको टोलिले कोशी गाउँपालीका वार्ड नम्बर ४ बस्ने वर्ष ३७ को करमुन मियाँलाई चेकजाँच गर्दा उनको साथबाट स्पास्मो प्रोक्सिभन प्लस ४४० ट्यावलेट, डाईलेक्स डीसी १०० एमएलको ३१ बोतल, सामसुङ मोवाईल थान १ र नगद नेपाली चार हजार एक सय पचास रुपैयाँ फेला पार्यो । यसैगरी केहीदिन अगाडि श्रीपुर क्षेत्रबाटै सशस्त्र प्रहरीले लागूऔषधसहित १३ वर्षीय कृष्ण यादवलाई पक्राउ गरेको थियो । यस्तै लकडाउनकै अवधिमा कोशी गाउँपालीकास्थित सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट इन्स्पेक्टर भूपेन्द्रकाजी निरौला नेतृत्वको सशस्त्र प्रहरीको टोलीले ठूलो परिणाममा लागूऔषधसहित एकदर्जन बढीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको बताएको छ ।
सीमा सुरक्षा बल सुनसरीको तथ्यांकअनुसार लकडाउनको अवधिमा सुनसरीको सीमावर्ती क्षेत्रबाट लागूऔषध कारोबार बढेको देखिन्छ । जिल्लाको विभिन्न सीमा नाकाबाट लकडाउनको अवधिमा ठुलो परिणाममा लागूऔषधसहित धमाधम व्यक्ति पक्राउ पर्नुले समेत सुनसरीको सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार बढेको देखाउछ । यद्यपि सशस्त्र प्रहरी भने लागूऔषध कारोबार बढेको भन्दा पनि रोकथाम तथा नियन्त्रणका लागि चलाएको ूस्टिङ्ग अप्रेसनू का कारण लागूऔषध कारोबारी पक्राउ पर्ने क्रम बढेको बताउँछन् ।
चैत ११ गतेदेखि लकडाउ भएदेखि हिजो शुक्रबारसम्म भारतबाट नेपालतर्फ लुकिछिपि लागूऔषध ल्याउदै गर्दा १४ जना कारोबारी पक्राउ परेका छन् भने चालु आर्थिक वर्षको हालसम्म २५ जना कारोबारीलाई सुनसरीको विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको तथ्यांकले देखाउछ ।
सीमा सुरक्षा बल सुनसरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार १९ गतेसम्म जिल्लाको विभिन्न स्थानबाट सशस्त्र प्रहरीले २५ जना कारोबारीलाई पक्राउ गर्नुका साथै १६ गाजा, ८५६८ ट्याबलेट स्पास्मो प्रोक्सिभन प्लस, नाईट्रोजन ८८५ ट्याबलेट, डाईलेक्स डिसि ३१० बोतल, लुपेजिसेक १६३ एमपुल, एभिल १२ एमपुल, फेनारागन ७ बोतल, डाइजोपाम १५२ बोतल, सोडास ५ ट्याबलेट, हाईड्रोक्लोराइड इन्जेक्सन १५० सिसि र फेन्सिडल २ बोतल बरामद गरिएको छ ।
८० प्रतिशत कारोबार घटेको दावी
लागूऔषध प्रयोगकर्ता तथा कारोबारीले सुनसरीको कोशी गाउँपालीका क्षेत्रलाई केन्द्रित गरेर सबैभन्दा बढी कारोबार गर्ने गरेको पाइन्छ । कोशी गाउँपालीका क्षेत्रमा लौकही, भण्टाबारी, लाही र श्रीपुर गरी चारवटा बिओपी छन् । ति मध्ये लौकही र श्रीपुर क्षेत्रलबाट लागूऔषध कारोबार बढी हुने गरेको देखिन्छ । विगत ११ महिनाको अवधिमा लौकही क्षेत्रबाट लागूऔषधसहित १२ जना व्यक्ति पक्राउ छन् भने श्रीपुर क्षेत्रबाट लागूऔषधसहित ८ जना व्यक्ति पक्राउ परेका छन् ।
लागूऔषध प्रयोगकर्ता र कारोबारीका लागि लौकही केन्द्र बिन्दु भएको बारे आउनभन्दा पहिले सुनेको बताउदै बिओपी लौकहीका इन्स्पेक्टर भूपेन्द्रकाजी निरौलाले आएलगत्तै लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि सामुुदायिकस्तरमा जनचेतना फैलाउदा विगतको भन्दा अहिले ८० प्रतिशत लागूऔषध कारोबार घटेको बताउँछन् ।
खुला सीमा भएकोले सूचना बिना लागूऔषध कारोबारीलाई पक्राउ गर्न सजिलो नभएको उनले बताए । प्रहरी सेवामा लागेपछि सेवा अवधिमा समाजका लागि केही गरौं भन्ने मान्यताअनुरुप लगभग आफ्नो एकवर्षको कार्यकालमा लागूऔषध कारोबारीलाई कानुनको दायरा ल्याउदा खुशी लागेको निरौलाको कथन छ । नेपाल र भारतबीच रहेको खुला सीमाको फाइदा उठाएर लागूऔषध सेवनकर्ता र कारोबार गर्ने व्यक्तिको संख्या बढेको पाइएको हुँदा सीमामा सशस्त्र प्रहरीले निगरानी बढाउदा ठुलो परिणाममा लागूऔषधसहित कारोबारी पक्राउ गर्न सफल भएको सीमा सुरक्षा बल सुनसरीका एसपी कृष्ण ढकाल बताउँछन् ।