इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–७ तित्रुचौक देखि रहिपुर जाने बाटो मर्मत तथा ड्रेन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । डेढ किलोमिटर सडक निर्माणमा अनियमितता भएको भन्दै इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

वडास्तरीय योजना पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको १० लाख बजेटबाट पक्की नाला निर्माण गर्ने योजना स्वीकृत भएको थियो । आ.व. २०७४/०७५ को स्वीकृत बजेटबाट रामधुनी तित्रुचौकदेखि रहिपुर जाने बाटोमा पक्की नाला निर्माण गर्ने भनिए पनि आधा बाटोसम्म मात्र ड्रेन काम सम्पन्न भएको र आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

बाटोमा केही ट्याक्टर मिसगिट्टी हालेर बजेट सिध्याएको भन्दै स्थानीय युवा जगत राईले उजुरी दिएका हुन् । ड्रेन बनाउनेदेखि ग्राभेल गर्ने काममा भ्रष्टाचार भएको भन्दै उजुरी दिएका छन् । उनीसहित स्थानीय ७ जना युवाले भ्रष्टाचारको ठहर भएको भन्दै उजुरी दिएको बताइएको छ । दर्ता नम्बर ००११३२ मा सो उजुरी दर्ता भएको छ ।

यता इटहरी–१० का स्थानीयले पनि भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दिएका छन् । इटहरी–१० का ३ वटाभन्दा बढी योजनामा उजुरी परेको छ । बाटो तथा भवन निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी पुरुषोत्तम ढकालले विकास निर्माणमा भ्रष्टाचार गरेको भन्दै उजुरी गर्नेको सङ्ख्या बढेको बताए । अघिल्लो वर्षदेखि नै विकास निर्माणमा भ्रष्टाचार बढेको भन्दै उजुरी गर्नेको सङ्ख्या बढेको अख्तियार कार्यालय इटहरीले जनाएको छ ।

आयोगको इटहरी कार्यालयमा गत आर्थिक वर्षमा १ हजार ८ सय २ उजुरी परेका थिए । कार्यालयमा केही उजुरी भने अघिल्लो वर्षबाट सरेर आएका छन् । कार्यालयमा अहिले उजुरीको सङ्ख्यामध्ये १ हजार ४ वटा मुद्दा बाँकी छन् । ८ सय ३४ वटा मुद्दा भने फछ्र्यौट भइसकेको सूचना अधिकारी ढकालले जनाए ।

उजुरी परेको विस्तृत अनुसन्धानका १ सय २० वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अख्तियारले जनाएको छ । यसमध्ये विकास निर्माणमा धेरै भ्रष्टाचार भएको जनाएको छ । आयोगमा ०७५/७६ मा १६ हजार ९ सय ९७ उजुरी परेका थिए । आर्थिक वर्ष ०७५/७६ को कुल उजुरी २४ हजार ८५ वटा परेका थिए ।

एक वर्षमा २४ जना रङ्गेहात पक्राउ
परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ । आयोगले एक वर्षमा सबैभन्दा धेरै व्यक्तिलाई घूससहित रङ्गेहात पक्राउ गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा अख्तियारले २० जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

एक वर्षमा २० जना कर्मचारीहरूलाई सेवाग्राहीबाट घूस लिँदालिँदै पक्राउ गरेको अख्तियारले जनाएको छ । २० वटा स्टिङ अप्रेसनमा २४ जनालाई पक्राउ गरेको हो ।