विराटनगर/अवैध रुपमा भारततर्फ लैजाँदै गरेको २३ तोला सुनसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२ सय ६७ ग्राम (२३ तोला) सुनसहित विराटनगर-१७ घर भएका श्यामल सेन गुप्तालाई प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्ता भरिया रहेको खुलेको छ । दूध पुर्याउन जान लागेको बहाना बनाएर भारतर्फ लैजाने क्रममा २ सय ६७ ग्राम सुन बरामद गरेको सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
सीमासँग जोडिएको मोरङको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरी बलको बिओपी बखरी पोष्टले अवैध सुन बरामद गरेको हो । ‘बिओपीको दैनिक गस्ती हुने गरेको र सोही क्रममा दशगजा छेउबाट सुन भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ परेका हुन्,’ एसपी पौडेलले भने, ‘दूध पुर्याउने बहनामा सुन पुर्याउने गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ ।’

प्रहरीले बरामद गरेको सुनसहित गुप्तालाई विराटनगर भन्सार कार्यालयमा बुझाउने एसपी पौडेलले बताए । प्रहरीले बरामद गरेको सुनको मूल्य २७ लाख ६७ हजार रुपैयाँ हुन आउने बुझिएको छ । प्रहरीले उनको साथबाट नेपाली रुपैयाँ ५ हजार, साइकल र मोबाइल बरामद गरेको छ ।