भण्टाबारी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का गुणराज यादवको प्रेम सम्बन्धका कारण हत्या भएको रहस्य खुलेको छ ।
गत बिहीबार साँझ धारिलो हतियार प्रयोग गरी २१ वर्षीय गुणराजको हत्या गरेर हातखुट्टा बाँधी बोरामा फालिएको अवस्थामा शनिबार सुनसरी खोलामा शव भेटिएको थियो ।
सुनसरी प्रहरीले गुणराज हत्या आरोपमा एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको बताए पनि उनको हत्या हुनुको पछाडि प्रेम सम्बन्ध मुख्य कारण भएको कुरा बाहिरिएको छ । एक युवतीलाई दुईजना युवाले मन पराएपछि सोही विषयमा विवाद हुँदा गुणराजको हत्या भएको स्रोतको दाबी छ ।
यद्यपि यसबारेमा अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार गुणराजको हत्या गर्नेहरूको पहिचान भइसकेपनि किन र के कारणले हत्या भएको भन्ने बारेमा अनुसन्धान केन्द्रित रहेको छ । स्पष्ट रूपमा नबताए पनि एसपी थापाले प्रेम सम्बन्धकै कारण उनको हत्या भएको कुरा इङ्गित गरे ।

तर, अनुसन्धान जारी रहेकोले यसबारे थप केही भन्न उनले चाहेनन् । अनुसन्धान निष्कर्षमा पुग्न लागेकोले मङ्गलबार बिहान वा दिउँसोसम्म गुणराजका हत्यारा सार्वजनिक गरिने सुनसरी प्रहरीले बताएको छ ।
शान्तिसुरक्षाको माग
गुणराजको हत्यापछि आइतबार घटनास्थल पुगेका नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा प्रदेश नम्बर १ प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेशमा शान्तिसुरक्षा कायम हुन नसकेको बताएका छन् ।
गुणराजका परिवारलाई भेटेपछि आक्रोशित देखिएका कोइरालाले शान्तिसुरक्षामा प्रहरीको ध्यान नपुगेको आरोप लगाएका छन् । ‘प्रदेश नम्बर १ मा विभिन्न प्रकृतिका अपराधका घटनाहरू दिन प्रतिदिन बढ्दैछ तर प्रहरीको ध्यान शान्तिसुरक्षामा पुगेको छैन’ उनले भने, ‘सर्वसाधारण त्रसित छन् । शान्तिसुरक्षा दिने प्रहरी प्रशासन आफै रमाइरहेको हो कि भन्ने प्रश्न उठेको छ ।’
यसतर्फ प्रहरी प्रशासन सजग हुनुपर्नेमा कोइरालाको जोड थियो । प्रदेशमा शान्तिसुरक्षाको सवालमा प्रश्न उठाउँदै नेता कोइरालाले फिल्डमा घुमेर शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिनुपर्ने बेलामा प्रदेश प्रहरी प्रमुख भने रमाएर बसेको आरोप लगाए ।
प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयलाई कसैले नटेरेको उल्लेख गर्दै उनले प्रदेशमा शान्तिसुरक्षाको अनुभूति सर्वसाधारणलाई गराउन माग गरे । गुणराज हत्या सम्बन्धमा कुनै पक्षको दबावमा नआई सत्य–तथ्य बाहिर ल्याई यथाशीघ्र दोषीलाई कानूनको कठघरामा ल्याउन नेपाली काङ्ग्रेसले माग गरेको छ ।