विराटनगर । मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएको आरोपमा पक्राउ परेका ३४ वर्षिय भाले भनेर चिनिने भवन ठकुरीलाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
मोरङ अदालतका न्यायाधीश कृष्ण मुरारी शिवकोटीको इजालशले मंगलबार ठकुरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि ठकुरी पुर्पक्षको लागि विराटनगरस्थित मोरङ कारागार चलान भएको अदालतका निमिक्त श्रेस्तेदार युवराज पौडेलले जानकारी दिए । मंगलबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गरेपछि अदालतले आदेश दिएको हो ।
गाउँपालिकाले लगाउने पटक करको ठेक्का नपाएको भन्दै ठकुरीले अध्यक्ष कार्कीमाथि साउन २ गते गाउँपालिको उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्ष भित्र चक्कु र खुकुरी प्रहार गरि घाइते बनाएका थिए ।
ठकुरी खदम कन्स्ट्रक्सनसँग आवद्ध छन् । आर्थिक वर्ष २०७६/०७७ असार मसान्तसम्म पटके सवारी कर उठाउन ठेक्का ठकुरी आवद्ध भएको खदम कन्स्ट्रक्यसनले पाएको थियो । सो सम्झौता असार मसान्तमा सकिने थियो ।

असार १२ गते उक्त ठेक्का केरावारी गाउँपालिका आफैले गर्ने सूचना पनि प्रकाशित गरेको थियो । साउन १ गतेबाट ठकुरीकोे ठेक्का सम्झौता सकिए पश्चात गाउँपालिकाले आफैले पटके कर उठाउन थालेको थियो । लकडाउनका कारण सवारी साधन चल्न नपाएको भन्दै ठेक्का घाटामा गएकोले पुनः ठेक्काको म्याद थप गरिदिनुपर्ने ठकुरीले माग राखेका थिए ।
गाउँपालिकाले सो ठेक्का ठकुरी आवद्ध भएको कन्ट्रक्सनलाई नदिर आफै गाउँपालिकाले कर उठाएको भन्दै अध्यक्ष कार्की माथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ ।