भद्रपुर/ आफन्तको पारिवारिक विवादको विषयलाई लिएर नाबालक मावली दाजु–बहिनीबीच जबरजस्ती करणी गरेको घटना ८ महिनापछि सार्वजनिक भएको छ । झापाको भद्रपुर–१ स्थित सिङ्ग्रीमारीका एक परिवारले स्थानीय एक नाबालकले जबरजस्ती करणी गरेको आरोपमा पीडित परिवारले प्रहरीमा निवेदन दर्ता गराएपछि घटना सतहमा आएको हो ।
पीडित परिवारले ९ वर्षीया बालिकामाथि करणीको आरोप लगाउँदै आएका छन् । घटना विवरणअनुसार गत ०७६ पुस २६ गते वनभोज गएको समयमा दिउँसो चिया बगानमा जबरजस्ती करणी गरेको विषयमा सोमबार पीडितले सुनाएपछि परिवारले जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दिएका थिए । निवेदनका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले सोही दिन १६ वर्षीय आरोपितलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणपश्चात् मङ्गलबार बिहान घटनास्थलको मुचुल्काका लागि प्रहरी गएको थियो । घटना नै नभएको विषयलाई लिएर प्रहरीले सही गर्न भनेपछि स्थानीय कसैले पनि सही नगरेको छिमेकी कमलप्रसाद शिवाकोटीले बताए । करणी आरोप लगाउने बालिकाका बुबा साउन ३२ गते दिउँसो बालकको घरमा एक हजार पाँचसय रुपैयाँ सापटी माग्न आएका थिए ।
तर, पीडक परिवारले विगतमा लिएको रकम अहिलेसम्म नतिरेको भन्दै पैसा नदिई फर्काएका थिए । विगतको कुरा उठाएर सामान्य मनमुटाव भएपछि निस्किएका पीडितका बाबुले छोरी बलात्कृत भएको आरोप लगाएर प्रहरीमा उजुरी दिएको उनको दाबी छ ।

त्यसपछि सीमा प्रहरी चौकीका सइ विकास भट्टराई नेतृत्वको टोली सही गराउन घटना भएको गाउँमा पुग्यो । तर, स्थानीयले सही गरेनन् । उनीहरू बस चढेर जिल्ला प्रहरीमा जानका लागि तयार भए । स्थानीयलाई सम्झाउन सइ भट्टराईले वडा प्रहरी कार्यालय भद्रपुरबाट थप मद्दत मागे । त्यसपछि वडाका इन्स्पेक्टर डम्बरबहादुर पुरीको नेतृत्वमा प्रहरीसहित वडानम्बर १ का वडाध्यक्ष दशरथ प्रधानलगायत पुगे । प्रहरीले बारम्बार सम्झाउँदासमेत एकजनाले पनि मुचुल्कामा सही गर्न मानेनन् ।
पारिवारिक विवादमा बालबालिका प्रयोग गर्ने प्रवृत्तिले समाज विकृत बन्ने भन्दै स्थानीय मदन सिलवालले आक्रोस पोखे । परिवारभित्रका आफन्तबीच आर्थिक लेनदेन विवाद बढ्दै जाँदा ९ वर्षीया बालिका करणीको आरोपमा १६ वर्षीय बालकलाई फसाउन खोज्दा समाज विकृत भएको भन्दै उनले सत्य–तथ्य छानबिन हुनुपर्ने बताए । स्थानीयले अभिभावकबीच विमति भए आपसमै कलह गर्दा फरक नपर्ने तर, बालबालिकालाई प्रयोग गरेरएकले अर्कालाई फसाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
आरोप लगाउने परिवार पीडक परिवारको मावली हुन् । पीडक भनिएका बालक सहोदर फुपूका छोरा दाजु हुन् भने पीडित भनिएकी बालिका मामाकी छोरी बहिनी हुन् । घरभित्रकै नाता रहेका परिवारबीच केही वर्षयता आर्थिक लेनदेन विवाद भएका कारण सहज सम्बन्ध भने नरहेको स्थानीय जीवन बास्तोलाको भनाइ छ । बालकका काकाले आफ्नो भतिजो आरोप लाग्ने अवस्थाको बेइमान नरहेको दाबी गर्दै पुरानो आर्थिक लेनदेन विवादमा नाबालिका छोरी प्रयोग गरेर निवेदकले सामाजिक विकृति सिर्जना गरेको आरोप लगाए ।
साविकको पृथ्वीनगर–१ हाल भद्रपुर–१ मा पर्ने सयपत्री टोलभित्र रहेको सिङ्ग्रीमारी बस्तीमा २ सय ५० घरधुरी तथा एक हजार जनसङ्ख्या रहेको छ । सो टोलका सम्पूर्ण स्थानीयले निवेदक परिवारले झुटो आरोप लगाएको बताए ।