इनरुवा / सुनसरीको भोक्राहा नरसिंह ७ का गुणराज यादवको हत्या विषयमा थप अनुसन्धानको क्रममा सुनसरी प्रहरीले सो क्षेत्रका केही घरमा आज सर्च गरेको छ ।
बोरामा हाली सुनसरी खोलामा फालिएको अवस्थामा गुणराजको शव भेटिएपछि प्रहरीले सो घटनामा संलग्न ५ जनालाई यसअघि नै पक्राउ गरि सकेको छ । सोही घटनाको थप अनुसन्धानको क्रममा नरसिंह पुगेको सुनसरी प्रहरीको टोलीले स्थानीयका केही घरमा आज खानतलासी गरेको छ ।
स्थानीयका अनुसार प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ । केही भने फरार भएका छन् । सोही क्रममा घटनाको अनुसन्धान र हत्यारा पक्राउ गरेको विषयलाई लिएर कडा कार्वाहीको माग सहित नाराबाजी गरिएको उनीहरुको भनाई छ ।
प्रहरीले सर्च गरिरहँदा सडकमा भेला भएका स्थानीयले गुणराजको हत्यारालाई कडा कार्वाही गरिनु पर्ने माग गरेका थिए । उनीहरुले प्रहरी अनुसन्धानमा बाधा पु¥याउन खोज्नेलाई समेत कार्वाहीको दायरामा ल्याइनु पर्ने बताए ।
स्थानीयले पक्राउ परेकाहरुलाई छुटाउन केहि व्यक्ति लागि परेको भन्दै अनुसन्धान फितलो हुन नदिन समेत प्रहरी समक्ष आग्रह गरेका थिए । स्थानीयले सुनसरी प्रहरी, प्रहरी प्रमुख कमल थापा र घटना अनुसन्धानमा खटिदै आएका प्रहरी निरीक्षक सरोज खनालको जय जयकार नै गरेका थिए ।

साउन २९ गतेबाट वेपत्ता रहेका गुणराजको शव सुनसरी खोलामा साउन ३१ गते फेला परेको थियो । पक्राउ परी अदालतबाट म्याद थप गरिएका दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दिपक कुमार यादव र प्रदिप रामले बयानका क्रममा हत्या स्विकारेको प्रहरीले यस अघिनै बताइसकेको छ ।
सुनसरीका प्रहरी प्रमुख कमल थापाले घटनाको सूक्ष्म अनुसन्धान जारी रहेको बताएका छन् । थापाले गुणराज हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले केही घरमा सर्च गरेको बताए । उनले थप विषय अनुसन्धानको क्रममा रहेको जानकारी दिए ।