• मिकाइल आलम

भण्टाबारी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का गुणराज यादवको हत्यामा थप व्यक्तिको संलग्नता हुनसक्ने भन्दै सुनसरी प्रहरीले फरक कोणबाट अनुसन्धान थालेको छ ।

गत साउन २९ गते हत्या गरी सुनसरी खोलामा फालिएको अवस्थामा यादवको शव फेला परेको थियो । उनको हत्या आरोपमा सुनसरी प्रहरीले हालसम्म ८ जनालाई सार्वजनिक गरेपनि थप केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । मोबाइलको पार्टपुर्जा लिन भनी घरबाट हिँडेका यादवको गत साउन २९ गते गाउँमा धेरै युवतीसँग प्रेम सम्बन्ध राखेको भन्दै पाँचजनाले सामूहिक रूपमा मिलेर हत्या गरेको सुनसरी प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हातखुट्टा बाँधेर बोरामा फालिएको अवस्थामा गुणराजको शव सुनसरी खोलामा भेटिएको थियो ।

प्रहरीले गुणराज हत्या आरोपमा घटना भएको पाँच दिनपश्चात् पाँचजनालाई सार्वजनिक गरेकोमा पछि मुख्य योजनाकार भनिएका सहित थप ३ जनालाई सार्वजनिक गरेको हो । गुणराजको हत्यामा दिनेश मेहता, पप्पु राम, दीपक यादव, प्रदीप यादव र शिवकुमार मेहताको संलग्नता देखिएको भन्दै सुनसरी प्रहरीले उनीहरूलाई सार्वजनिक गरेकोमा त्यसको केही दिनपछि मुख्य योजनाकार भनिएका भोक्राहा नरसिंह गाउँपालिका–७ का ३९ वर्षीय जनार्दन यादव, सोही स्थानका ६२ वर्षीय बुद्धराम यादव र ५० वर्षीय कृपाराम यादवलाईसमेत पक्राउ गरेको थियो ।

विभिन्न मितिमा १० जना जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै प्रहरीले ८ जनालाई सार्वजनिक गरे पनि गुणराजको हत्यामा संलग्न हुनसक्ने भन्दै थप दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । गुणराजको हत्यामा संलग्न हुनसक्ने भन्दै प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवका स्वकीय सचिव तथा ठेकेदार बिनित यादव र उनका सहयोगी रमेश यादवलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरूलाई भदौ ५ गते नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले जानकारी दिए ।

गुणराज हत्या आरोपमा सुनसरी प्रहरीले भदौ ५ गते आफ्ना स्वकीय सचिव बिनित यादवलाई नियन्त्रणमा लिएको बताउँदै अध्यक्ष यादवले प्रहरी अनुसन्धानबाट दोषी देखिने व्यक्तिलाई कानूनबमोजिम कारबाही हुनुपर्नेमा जोड दिए । ‘अनुसन्धानबाट दोषी देखिनेलाई कारबाही हुनुपर्छ तर कसैको कुरा सुनेर निर्दोष व्यक्तिलाई फसाउनु हुँदैन’ –अध्यक्ष यादवले भने । आफूसँग बिनित यादवको कुरा हुँदा उनी आफू निर्दोष रहेको बताउँदै आएको उनले उल्लेख गरे । बिनित यादव र रमेश यादवलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसका कारण अनुसन्धान टुङ्गोमा पु¥याउन केही विलम्ब भएको बताउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले छिट्टै यथार्थ कुरा बाहिर ल्याउने बताए । ‘दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘गुणराजको हत्यामा उनीहरूको संलग्नता छ–छैन भन्ने कुरा छिट्टै सार्वजनिक गर्छौं ।’ दोस्रोपटक थपिएको पाँच दिनको म्याद मङ्गलबार सकिने भएकोले अदालतबाट थप केही म्याद थप्ने प्रहरीले तयारी गरेको छ ।