धनकुटा / सामूहिक यौन शोषणमा परेर गर्भ बोकेकी १३ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छन् ।
धनकुटाको महिला पुनःस्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी शोषण पीडित बालिकाले सोमबार साँझ कोशी अञ्चल अस्पताल विराटनगरमा छोरी जन्माएकी हुन् । उनीमाथि शिक्षकसहित चार जनाले यौन शोषण गरेको आरोप लागेको छ ।
ती आरोपितहरू अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् । शिशु कसको हो भन्ने खुट्याउन अब डिएनए परीक्षण नै गर्नुपर्ने भएको छ । उनी लामो समयदेखि पटक–पटक यौन शोषणमा पर्दै आएको पीडित परिवारले धनकुटा प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । सोही उजुरीका आधारमा एक शिक्षकसहित चार जना पक्राउ परेका थिए । पक्राउपछि अनुसन्धान गरी जिल्ला अदालत धनकुटाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
बालिकाका आफन्तले किटानी जाहेरी दिएका आधारमा धनकुटा–६ सिरान बजारमा रहेको गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारीसहित गौरी अत्री, होटल व्यवसायी देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर पक्राउ परेका हुन् । उनीहरूविरुद्ध छुट्टाछुट्टै मिसिल बनाएर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै यौन शोषण गरेको देखिएपछि फरक– फरक मिसिल बनाएर मुद्दा दर्ता गरिएको उनले बताए । जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।

महिला पुनःस्थापना केन्द्रमा राखिएको चार महिना नबित्दै बालिकाले शिशु जन्माएकी हुन् । आइतबार साँझ सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल धनकुटा लगिएको थियो । तर, पेटको बच्चा उल्टो बसेको पाइएपछि सोमबार कोशी अञ्चल अस्पताल विराटनगर लगिएको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले बताइन् । यौन शोषणमा परेकी बालिकालाई ओसिएमसी एकद्वार सङ्कट व्यवस्थापन कार्यक्रमको सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको उपाध्यक्ष राईले बताइन् ।
जिल्ला अस्पताल धनकुटाले पनि ओसिएमसी कार्यक्रमको सहयोगमा विराटनगरको कोशीमा रेफर गरेको हो । यो घटनामा पीडकको तर्फबाट मुद्दालाई फितलो बनाउन भित्रीरूपमा पीडित परिवारलाई मनाउन आर्थिक चलखेल भइरहेको एक स्रोतले नाम नछाप्ने शर्तमा जनाएको छ ।
त्यस्तै आफ्नै बुबाबाट बलात्कारको शिकारमा परेकी चौबीसे गाउँपालिकाकी अर्की बालिका पनि सुत्केरी हुने अवस्थामा पुगेको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले जनाएको छ । केन्द्रमा हाल १ जना सुत्केरी भइसकेको, १ जना असोज अन्तिममा सुत्केरी हुने र २ जना आफ्नै बुबाबाट जबर्जस्ती करणीबाट गर्भ रहेको र ३–४ जना मिलेर जबर्जस्ती करणीमा परेकी १ जना अपाङ्ग बालिकासमेत गरी ५ जना केन्द्रको संरक्षणमा रहेको सेवा केन्द्रकी अध्यक्ष हिमा चेम्जोङले बताइन् ।