धरान । गत सोमबार कोठामा शंकास्पद रुपमा मृत फेला परेकी धरान–११ की २२ वर्षीया सोनी हाङ्मा लिम्बुको शव पोष्टमार्टमपछि बिहीबार अन्त्यष्टि गरिएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेपछि बिहीबारै खत्री धारामा उनको शव जलाइएको हो । उनको माइती पक्षका अनुसार लिम्बु समुदायमा शव गाड्ने प्रचलन रहेपनि अकालमै मृत्यु भएकाहरुको जलाउने चलन अनुसार सोनीको शव जलाइएको हो ।

पक्राउ परेकाको १० दिन म्याद थप
मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले उजुरी दिएपछि पक्राउ परेका चार जनालाई अनुसन्धानका लागि १० दिनको म्याद थप भएको छ ।

प्रहरीले बुधबार सोनीका ससुरा ६१ बर्षीय भीम माबो, देवर २० बर्षीय हेमकुमार माबो, आमाजुहरु २८ बर्षीया सञ्जु माबो र २५ बर्षीया विमला माबो पक्राउ गरेको थियो । उनीहरुलाई बिहीबार जिल्ला अदालत सुनसरीले अनुसन्धानको लागि १० दिन हिरासतमा राख्ने अनुमति दिएको प्रहरीले जनाएको छ । माइती पक्षले सोनीका श्रीमान सिंगापुर प्रहरीमा कार्यरत युवराज भनिने आइत माबोको समेत नाम किटान गरेर जाहेरी दिएको थियो । उनी भने सिंगापुरमै छन् ।