भण्टाबारी । सुनसरी जिल्लाको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की आएको छ । शुक्रबार राति अन्सारीलाई भारतीय ठेकेदार बब्लु भगतले ज्यान मार्ने धम्की दिएको दाबी गरिएको छ । कोशी गाउँपालीकाका अध्यक्ष अन्सारीले रातको समयमा फोनबाट ज्यान मार्ने धम्की आएको बताएका छन् । 
 
त्यस्तो धम्की आएपछि आफू तत्काल प्रहरीलाई खबर गरेकोमा धम्की दिने ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । उक्त ठेकेदारसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै अध्यक्ष अन्सारीले ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग गरेका छन् ।
 
अध्यक्षलाई ज्यान मार्ने धम्की आएपछि कोशी गाउँपालीका क्षेत्रका सर्वसाधारण राति राजमार्ग अवरुद्ध समेत गरेका थिए ।
सुनसरी प्रहरीले आफ्नो काम गरिरहेको हुँदा कोरोना महामारीको समयमा अनावश्यक भिड नगरी दिन अध्यक्ष अन्सारीले सर्वसाधारणमा आग्रह गरेका छन् ।
 
सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले कोशी गाउँपालीकाका  अध्यक्ष ऐयुब अन्सारीलाई शुक्रबार राति भारतीय ठेकेदार बब्लु भगतले ज्यान मार्ने धम्की दिएको भन्ने खबर आएकोले उनलाई कोशी गाउँपालीका ८ स्थित भण्टाबारीबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिए ।