विराटनगर/ घरेलु मदिरा उद्योगको रूपमा बिस्तार भएको विराटनगर – १२ मंगलबारे बस्तीमा प्रहरीले छापा हानेर ठूलो परिमाणमा मदिरा बनाउने कच्चा पद्धार्थ र तीन जनालाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीले मदिरा उद्योगमा छापा हानेर ‘दुई टन’ क्षमताको तीन गाडी मदिरा बनाउने कच्चा पद्धार्थ, भाडाहरू र तीन जनालाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर १२ का कृष्ण तामाङ्ग, सान्ता आले र लक्ष्मी राईलाई प्रहरीले पक्राउ गरको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । प्रहरीले उनीहरूसहित एक दर्जन घरहरूमा मदिरा बनाउने ठाउँमा छापा मारेको थियो ।
‘अवैध रूपमा बस्तीमा घरेलु मदिरा व्यवसायिक रूपमा उत्पादन भइ विक्री वितरण हुने गरेको बिशेष सूचना आएको थियो,’ एसपी खड्काले भने, ‘चाडपर्ब लक्षित सुरक्षा योजना अनुसार मदिरा र मदिरा बनाउने ठूलो परिमाणमा कच्चा पदार्थ बरामद भएको हो ।’ उनको अनुसार जिल्लाभरी अवैध घरेलु मदिरा नियन्त्रण अभियान सुरु भएको जानकारी दिए ।

मोरङ प्रहरीका इन्सिपेक्टर कुन्दन देवको नेतृत्वमा खटिएको प्रहरी र वडा प्रहरी कार्यालय विराटनगर ‘क’ बाट गएको टोलीले घरेलु मदिरा बनाउने उद्योगमा छापा हानेको थियो । पक्राउ परेकाहरूको घरमा प्रहरीले छापा हानेर मदिरा र मदिरा बनाउने कच्चा पदार्थ तथा भाडाकुडाहरू बरामद गर्न थालेपछि अन्य मदिरा बनाउनेहरू भागाभाग भयो ।
शान्ता आलेको मदिरा उद्योगमा प्रहरीले छापा हानेर मदिरा बरामद गरेपछि अन्य छिमेकीहरू घरमा ताला लगाएर फरार भए । जनप्रतिनधी र स्थानियको रोबरमा फारार भएकाहरू घरको ताला फोडेर प्रहरीले मदिरा बरामद गरेको छ । फरार भएका घरधनीहरूको पनि खोजी कार्य प्रहरीले जारी राखेको छ ।
यस अघि पनि विराटनगर १२ बाट व्यवसायिक रुपमा घरेलु मदिरा उत्पादन गरि बिक्री गर्ने घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा, मदिरा बनाउने कच्चा पद्धार्थ र भाडा कुडाहरु बरामद गरेको थियो । प्रहरीले बरामद गरेको भाडाकुडा, कच्चा पद्धार्थ र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि विराटनगर कर कार्यालयमा पठाउने गरेको छ ।