धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका १ कटहरेमा शुक्रबार राती १२ बर्षीया बालिका मिना राईको हत्या चटपटेको निउँमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि शनिबार संघीय प्रहरी इकाई कार्यालय धरानको केनाईन शाखामा ज्यान सम्वन्धी अनुसन्धानमा प्रयोग गरिने ‘लैला’ नामको कुकुरको सहयोगमा पक्राउ गरिएका सोही ठाउँका १५ वर्षीय रञ्जीत राईले मिनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शनिबार मिनाको हत्याको अनुसन्धानका लागि प्रहरीले एक किशोरीसहित ८ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार शुक्रवार राती मृतक मिनाकी आमा विरामी भएको हुँदा २/३ सय मिटर टाढाको अनुषा राईको घरमा धामी लगाउन स परिवार गएका थिए । मिना भने घर पनि रुङ्ने र सुत्ने भनि रातको १० बजे घर फर्किएकी थिईन् । उनीहरुको घरमा सानो पसलपनि सञ्चालित थियो । मिना घर पुगेपछि रञ्जीत चटपटे किन्ने भन्दै गएका थिए । सोहि विषयमा विवाद हुँदा मिनालाइ सिसाको बोतलले टाउकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार रञ्जीत केही समयअघि गाउँमा ट्याक्टर दुर्घटनामा मान्छे किचेर फरार भएका थिए । केही दिनअघि मात्र उनी घर आएको र उनी नातामा मिनाको मामा पर्ने स्थानीयले बताएका छन् ।

उनलाई मुलुकी अपराध ९ संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुर गरेको अभियोगमा सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान कार्य शुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।