धरान । तेह्रथुमको फेदाप गाउँपालिका २ नेवाईका चन्द्रकुमार लिम्बु घरमा अबैध भरुवा बन्दुक राखेको आरोपमा पक्राउ परेका छन् ।

लिम्बुको घरमा अवैध हतियार रहेको सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा घरको माथिल्लो तलामा काठको दराजको कुना राखिएको भरुवा बन्दुकमा बारुद भर्न प्रयोग हुने फलामको गज बरामद भएको र थप खानतलासी गर्दा घर देखी ३५ मिटर दक्षिणमा रहेको गाई गोठको भुई तलामा अलैचिको खोस्टा र माटोले पुरी राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

भरुवा बन्दुक सहित पक्राउ परेका लिम्बुलाई कानून बमोजिम प्रहरी हिरासतमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्स्पेक्टर तेजबहादुर दाहालले जानकारी दिए ।