विराटनगर । सीमा नाका शिल गरिएको बेला अवैध रूपमा भारतबाट मध्य रातीको समयमा हुने लत्ताकपडाको तस्करी झन मौलाएर गएको पाइएको छ ।
एक पछि अर्को गर्दै सशस्त्र प्रहरीले ठूलो परिमाणममा लत्ताकपडा बरामद गरेपछि तस्करीजन्य गतिबिधीहरू झन मौलाएर गएको पुष्टि गर्दछ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) रानी विराटनरले शुक्रबार राती साढे ११ बजे तस्करीको ३ लाख ६० हजार ४ सय ६० मूल्य बरावरको लत्ताकपडा बरामद गरेको छ ।
बीओपी रानीका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले विराटनगर – १५ सुढी बस्तिबाट कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीले भेष्ट, स्याण्डो,लेडिज टप्स लगायतका कपडाहरू बरामद गरी बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
त्यसलगतै शनिबार राती सशस्त्र प्रहरी बिओपी खबरीले विराटनगर १६ दरैयावस्तीको उखुबारी हुँदै तस्करी गरि लगेको कपडा बरामद गरेको छ । प्रहरीले बरामद गरेको कपडा १ लाख ७ हजार ४ सय मुल्य बराबरको रहेको छ ।

केही दिन अगाडी पनि बिओपी रानी र बखरीले दुई दिनमा १० लाख ६० हजार मुल्य बराबर पर्ने कपडा बरामद गरेको थियो । बखरी बीओपिले ९ लाख २२ हजार र बिओबी रानीले १ लाख ४५ हजार मुल्य बरावरको तस्करीको सामान बरामद ग¥यो । सशस्त्र प्रहरीले बारामद गरेको कपडा मध्य राती थियो ।
अहिले मध्य राती र विहानी पखको समयमा विराटनगर – १६ स्थित दरैयाको उखुबारी, दक्षिण गेट र इस्लामपुरबाट मध्य राती कपडा तस्करी हुने गरेको छ ।
यो नाकाहरूबाट तस्करीमा लागेका गिरोहले भरिया प्रयोग गरि बोरा भित्र कपडा हालेर भारतदेखि ल्याउने गर्दछन् । मोरङको पूर्वी क्षेत्रको सीमा नाकामा प्रहरीले कडाइ गर्न थालेपछि अहिले भारतसँग सीमा जोडिएको विराटनगरको दरैयाबस्तीको उखु बारी प्रयोग गर्न थालेका छन् । स्रोतको अनुसार ११ बजेपछि तस्करीको कपडा विराटनगर १६ दरैयाको उखु बारीको भित्री बोटो हुँदै रिङरोडको सडक प्रयोग गर्दछन् । भारतको टिकुलिया बस्तीदेखि दक्षिण क्षेत्रमा कपडा जम्मा गरि राख्दछन् ।
राति ११ बजेपछि भरियालाई लगाए विराटनगर १६ उखुबारी हुदै दरियाबाट तस्करीको कपडा कटाउने गरेको यहाँका स्थानियको भनाई छ । कपडाको तस्करीको लाइन विराटनगर १६ दरैयाबस्तीकी ‘लिबिस्टकवाली’ भनेर चिनिने रेणुका मण्डल, विराटनगर १४ जतुवाकी सवनम खातुनलगायतको समूहले चलाउने गरेको प्रहरी स्रोतले बतायो ।
पछिल्लो समय खातुन र मण्डलको मात्र तस्करीको कपडा लाखौं मुल्य बराबरको प्रहरीले समाएर भन्सार बुझाएको छ । उनीहरूले भारतदेखि दरियाबस्ती हुदै विराटनगरसम्म पु¥याउन भरिया प्रयोग गर्दछन् । उनीहरूले भरिया प्रयोग गरेको निश्चित रकम दिने गरेका छन् । प्रतिव्यक्ति भरिया ५ सय देखि एक हजार रूपैयाँ दिने गरेका छन् ।
‘१ हजार रुपैयाँ दिएको भरियालाई ८० देखि १ सय पिस सम्म बोरामा हालेर कपडा बोकाउने गरेका छन्,’ स्रोतले भन्यो, ‘५ सय रुपैयाँ दिएको भरियालाई ३० देखि ४० पिससम्म कपडा बोक्ने गरेको पाइयो ।’ सशस्त्र प्रहरीले शुक्रबार राती र केही दिन अगाडी मोरङ प्रहरीले विराटनगर – ८ जयनेपाल चौकस्थित भण्डारन गरि राखिएको तस्करीको कपडा पनि लिबिस्टक वालीको रहेको बुझिएको छ ।
यो समूहले भारतदेखि उखुबारी कटाएपछि दरैयाबस्तीको विश्वासिलो व्यक्ति घरमा भण्डारन गर्ने र दिउँसो समय मिलाएर गनतब्यमा पु¥याउने गर्दछन् । उनीहरूले विराटनगरसहित पूर्वको विभिन्न सहरमा कपडाको तस्करी गर्दछन् । अहिले यो समूहले चाडपर्वको समयमा कपडा र अन्य बेला सिजन अनुसारको तस्करीको धन्दा चलाउने गरेका हुन् ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भन्सार छलेर कपडाको तस्करी हुन थालेको पाइएपछि सबै ठाउँमा कडाइ गरिएको बताए । ‘कपडादेखि अन्य सामानसमेत तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कडाइ गरिएको छ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिईसकिएको छ ।’
तस्करी नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको उनले बताए । तस्करीका लागि भारतसँग सीमा जोडिएका मोरङका रंगेली, बुधनगर, मटेरुवा, खयरवना, सिक्टी, दरैया र सुनसरीका अमडुवा, साहेवगन्ज, भन्टारबारी, भुटाहा, हुस्कीलगायतका नाका प्रयोग गर्न थालेका छन् ।