धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएका विभिन्न समस्याहरु सुधारको माग गर्दै वीपी प्रतिष्ठान सुधार दबाब समुहले १८ बुँदे अवधारणापत्र बुझाइएको छ ।
प्रतिष्ठानको सुधारका लागि पहल गर्न भन्दै हालै गठन भएको दबाब समूहले आइतबार प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई अवधारणा पत्र बुझाएको हो ।
अवधारणापत्रमा प्रतिष्ठानको सिनेटर संलग्न रहेको अधिकार सम्पन्न एक अनुगमन समितिको गठन गर्न माग गरिएको छ ।
त्यसैगरी वर्तमान अवस्थाको यथार्थ चित्रण सहितको प्रतिवेदन सार्वजनिक गर्न, एक्सन प्लान तयार गर्न विशेषज्ञ सहितको समूह निर्माण गर्न, अक्सिजन प्लाण्ट सञ्चालन उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गर्न पनि माग गरिएको छ ।

त्यस्तै लेभल ३ कोभिड अस्पतालको निर्दिष्ट सेवा प्रत्याभूत गर्न, आचार संहिता तर्जुमा तथा कार्यान्वयन गर्न, अन्तर सम्बन्ध समन्वय इकाइको गठन गर्न, सामाजिक लेखा परीक्षण हुने र कसले गर्ने सो को जिम्मेवारी तोक्न, नागरिकले स्वास्थ्य वीमाको उपयोग कोभिडका हकमा पनि गर्न पाउने व्यवस्था गर्न, सेवा सुचारु हुन नसकेका उपकरणहरु अविलम्ब मरमत संभार गरी सेवा सुचारु गर्न माग गरिएको छ ।
त्यसैगरी इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउँदै ओपिडी सेवा नियमित गर्न, पिसिआर परीक्षण २४ सै घण्टा चालु गरी सरकारले घोषणा गरेको सुविधा सुलभ ढंगले प्रदान गर्न, कोभिड अस्पताल भित्रका अव्यवस्था तुरुन्त निराकरण गरी सिसि क्यामेरा र गेटमा मनिटर राख्न पनि माग गरिएको छ ।
अवधारणापत्रमा अस्पताल शैयाको १० प्रतिशत आईसियु रहने व्यवस्था पालन गर्न, सिटी स्क्यान र डायलासिय मेसिन चालु अवस्थामा ल्याई सेवा सुचारु गर्न, फार्मेसीबाट व्यहोर्नु परिरहेको नोक्सानी पुनःसमीक्षा गरी फार्मेसि व्यवस्थित गर्न, बिरामीको चाप अनुसार मातृशिशु वार्डमा बेडसंख्या कम भएकाले त्यसको व्यवस्था गर्न र कोभिड अस्पतालको अस्तव्यस्तताको जिम्मेवार को हो ? कतै नेतृत्वमा समस्या छ कि ? पुनर्बिचार गर्न माग गरिएको छ ।
प्रतिष्ठानमा बुझाईएको अवधारणापत्रमा दबाब समूहका संयोजक गिरिधारी सापकोटा र सदस्य सचिव महेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।