भण्टाबारी/ दसैं सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले सुनसरीको विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम बढेको छ ।
तिहार नजिकिदै गर्दा भारतीय बजारबाट लुकाएर जिल्लाको विभिन्न नाका हुँदै ठुलो मात्रामा तस्करहरुले पटकाजन्य पदार्थ भित्र्याउने गरेका छन् । नेपाल भारतबीच रहेको खुल्ला सीमा नाकाको फाइदा उठाउदै तस्करहरुले सीमामा तैनाथ सुरक्षाकर्मीबाट लुकाईछिपाई ठुलो परिणाममा पटका भित्र्याउने गरेको प्रहरीको भनाइ छ ।
जिल्लाको भण्टाबारी,भुटहा,घुस्की,कप्तानगंज लगायतका नाकाबाट ठुलो परिणाममा पटका भित्र्याउदै गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीले बरामद गरी नष्ट गरिनुले तिहारलाई लक्षित गरेर भारतबाट पटका भित्र्याउने गिरोह सक्रिय रहेको पुष्टि हुन्छ ।
मंगलबार बिहान सशस्त्र प्रहरी बल भुटहा बेस क्याम्पबाट खटिएको सशस्त्र प्रहरीको टोलिले ७० हजार बराबरको विभिन्न प्रकारका पटका हरिनगर गाउँपालीका १ भुटहाबाट बरामद गरी नष्ट गरेको इन्स्पेक्टर रुपक नापितले जानकारी दिए । सोही स्थानबाट सशस्त्र प्रहरीले केही दिन अगाडि ५० हजार बराबरको पटका बरामद गरेको थियो भने भण्टाबारी क्षेत्रबाट हालसम्म सशस्त्र प्रहरीले लगभग ५० हजार बराबरको पटका बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

लुकिछिपि भारतबाट भित्र्याएको ५ लाख बराबरको पटका जिल्लाको विभिन्न क्षेत्रबाट बरामद गरी नष्ट गरेको सीमा सुरक्षा बल सुनसरीका एसपी माधव पौडेलले जानकारी दिए । प्रहरीले थोरै मात्रा पटका समाते पनि तस्करहरुले सीमा नाकामा तैनाथ रहेका प्रहरीलाई प्रभावमा पारेर भारतबाट ठुलो मात्रा पटका नेपाल भित्र्याउने गरेको श्रोतको दाबी छ । यद्यपि त्यस्तो आरोप निराधार भएको भन्दै एसपी पौडेल भने अति प्रज्वलनशील पदार्थको रूपमा रहेको पटका कुनै पनि हालतमा नेपाल भित्रीन दिदैनौ । तर,लुकाएर केही व्यक्तिले त्यस्तो पदार्थ ल्याउने गरेको पाइएको छ त्यस्तालाई बरामद गर्दै नष्ट गरिरहेका छौ उनले भने ।
तिहारमा मागे बढ्ने हुँदा जिल्लाको सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकिछिपि पटाकाजन्य पदार्थको तस्करी हुने गरेको छ । भारतीय कारोबारीले भरियामार्फत पटकाजन्य पदार्थ नेपाल पठाउने गरेका छन् । खासगरी तिहारका लागि भन्दै भारतीय बजारबाट वर्षेनि लाखौं मुल्य बराबरको पटका नेपाल भित्रीने गरेको छ । यसरी भित्र्याइने विभिन्न प्रकारका पटकाजन्य पदार्थ राजधानी काठमाडौसहितका ठाउँमा पठाउने गरिएको छ ।