भण्टाबारी । सुनसरीको धरान उपमहानगरपालिका १९ स्थित धनकुटे मार्गबाट ब्राउन सुगरसहित पक्राउ परेका व्यक्ति भारतीय भएको दाबी गरिएको छ । चेकजाँचको क्रममा ब्राउन सुगरसहित पक्राउ परेका इनरुवा नगरपालिका ३ बस्दै आएका राजकुमार सिंह भारतीय भएको दाबी गरिएको हो । बा १५ च ९०८८ नम्बरको स्कारपीओमा भोटेपुल तर्फ जादै गरेको अवस्थामा शुक्रबार बेलुका ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले टोलिले सिंहलाई ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
इनरुवा बजारमा कपडा व्यवसाय गर्दै आएका उनी सप्तरीको साविक गाविस पकरी २ स्थायी घर भएको बताउने गरेपनि उनको वास्तविक ठेगाना भारत बिहार राज्यको भीमनगर ग्रामपन्चायत रहेको श्रोतको दाबी छ ।
राजकुमार सिंह झुठो विवरण पेस गर्दै २०६३र६४ तिर सप्तरी जिल्लाको साविक पकरीबाट नेपाली नागरकिता बनाएको श्रोतको भनाइ छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा झुठो विवरण पेस गर्दै सिंहले नेपाली नागरिकता बनाएपछि तत्कालीन हरिपुर गाविस र हाल कोशी गाउँपालीका ८ भण्टाबारी बस्ने पौडेल थरकी युवतीसँग बिहे गरेका हुन् । राजकुमार सिंहका आफन्तहरु अझै भारतको भीमनगरमै बसोबास गर्दै आएको श्रोतको दाबी छ ।
७७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका सिंहमाथि लागूऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बस्नेतले जानकारी दिए । आइतबार मुद्दा दर्ता गरी जिल्ला अदालतबाट सातदिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । धरानबाट ब्राउन सुगरसहित पक्राउ परेका राजकुमार सिंह भारतीय भएको बारे आफू जानकार नभएको बताउने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले अनुसन्धानपछि यथार्थ कुरा बाहिर आउने बताए । कोही कसैले गलत विवरण पेस गरेर नेपाली नागरिकता लिएको पाइएमा अनुसन्धान गर्दै कानुनी कारबाही गरिने उनको भनाइ छ ।

ब्राउन सुगर निल्दा गयो ज्यान
मंसिर ९ गते कोशी गाउँपालीका ८ स्थित भण्टाबारीबाट पक्राउ परेका स्थानीय विकास देवले २५ ग्राम ब्राउन सुगर निल्दा उपचारको क्रममा उनको ज्यान गएको थियो ।
सुराकीका आधारमा प्रहरीको टोलिले विकासलाई पक्राउ गर्न खोजेपछि साथमा बोकेको ब्राउन सुगर निलेपछि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले पक्रिन खोज्दा साथमा भएको ब्राउन सुगर निलेपश्चात् प्रहरीको टोलिले उपचारका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगेपनि उनलाई बचाउन सकेन ।
दुईवटा अप्रेसन गरिएपनि मृत विकासको पेटमा प्लास्टिक मात्र फेला पारिएको प्रहरीको भनाइ छ । पछिल्लो समय जिल्लाको सीमावर्ती क्षेत्रहरूमा लागूऔषध कारोबार बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष अप्रेसन चलाएको बताएपनि अझै लागूऔषध कारोबार यथावत रहेको पाइन्छ ।