भण्टाबारी । कोशी गाउँपालीकाका जनप्रतिनिधि र कर्मचारीबीचको खेलमा जनप्रतिनिधिको टोलि विजयी भएको छ । कोशी गाउँपालीका ५ श्रीपुरस्थित कुम्याहीको खेल मैदानमा भएको मैत्रीपुर्ण फुटबल खेलमा बुधबार कर्मचारीको टोलिलाई २स्० ले हराउँदै जनप्रतिनिधि विजयी भएको हो । 

सुनसरीको कोशी गाउँपालीकाको कुम्याहीमा आयोजित तेस्रो अध्यक्ष कप  फुटबल प्रतियोगिता अन्तर्गत कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपुर्ण फुटबल खेल सम्पन्नभएको हो । उक्त मैत्रीपुर्ण खेलमा जनप्रतिनिधिका तर्फबाट कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी र विजली भनेर चिनिने नुरुल हकले एक एक गोल गर्दै टोलिलागि जिताएका हुन ।

जनप्रतिनिधिका तर्फबाट अध्यक्ष अन्सारीको नेतृत्वमा कोशी गाउँपालीका ५ का वडाध्यक्ष साह जमाल, राजकिशोर मेहता, कमलेश्वरी खेरवार,मुस्ताक आलमलगायत मैदानमा उत्रेका थिए भने कर्मचारीको तर्फबाट रोशन शर्माको नेतृत्वमा धर्मेन्द्र विश्वास,श्यामकिशोर मण्डल, बिनोद मिश्र,मुन्ना ठाकुर,अलाउद्दिन अन्सारी, महफुज अन्सारी,एकराज पोखरेल, अशोक मण्डललगायत मैदानमा उत्रेका थिए ।

सो खेलको म्यान अफ द म्याच महत्त्वपूर्ण एक गोल गर्दै टोलिलाई जिताएका गाउँपालीका अध्यक्ष अन्सारी घोषित भए । उनलाई आयोजकका साथै खेल हेर्न उपस्थित भएका सयौं समर्थकका तर्फबाट आकर्षण पुरस्कार वितरण गरिएको थियो ।

खेलकुदको विकास गर्दै कोशी गाउँपालीकालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन निर्वाचित भएदेखि निरन्तर फुटबलसँगै क्रिकेट,भलिबललगायत प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष अन्सारी बताउँछन् । जीवनमा स्वस्थ्य रहन खेलकुद महत्त्वपूर्ण भएकाले सोही सन्देश दिनेहेतुले कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपुर्ण खेल आयोजना गरिएको आयोजक मिल्लत स्पोर्टिङ फुटबल क्लबका अध्यक्ष मेमुल हकले जानकारी दिए ।

मैत्रीपुर्ण खेल हेर्न कोशी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादव,श्रीपुर पन्चायतका पूर्व गाविस अध्यक्ष नइम प्रधानलगायतको उपस्थिति रहेको थियो भने मैत्रीपुर्ण फुटबल खेलको उद्घोषण पत्रकार पवन रौनियारले गरेका थिए । कोशी गाउँपालीकाको सहयोगमा मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालीका ५ कुम्याहीको आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

फाइनलमा आयोजक मिल्लत स्पोर्टिङ फुटबल क्लबले राजाबास युवा फुटबल क्लबको सामाना गर्नेछ । १२ वटा टोलिको सहभागिता रहेकोे सो प्रतियोगिताको फाइनल जित्ने टोलिलाई नगद ५५ हजार र उपविजेता टोलिले ३० हजारका साथै सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।