भण्टाबारी। धरानबाट ब्राउनसुगरसहित पक्राउ परेका इनरुवाका व्यापारी भारतीय नागरिक राजकुमार सिंहलाई जोगाउन प्रमाण मेटाइएको पाइएको छ ।
अनुसन्धान गर्ने क्रममा उनी भारतीय नागरिक रहेको आधार कार्ड र भारतीय निर्वाचन आयोगले उपलब्ध गराएको भोट कार्ड बरामद भएको थियो । खोजबिन गर्दै जाँदा उनी भारतीय नै रहेको खुले पनि कारबाहीमा उदासिनता देखाउँदै उल्टो सिंहलाई जोगाउनका लागि प्रमाण मेटाउने प्रयास भएको पाइएको हो ।
उनी इनरुवाका ठूला कपडा व्यवसायीका रूपमा रहेका थिए । तर, भित्रभित्रै उनले लागूऔषधको कारोबार गर्ने गरेको मङ्सिर १९ गते धरानबाट पक्राउ परेपछि खुलेको हो । सिंहलाई कानूनी कारबाही हुनबाट जोगाउनका लागि भारतीय मतदाता नामावलीबाट नाम हटाइएको पाइएको हो ।
सप्तरी जिल्लाबाट कीर्ते गरी नेपाली नागरिकता लिएका सिंह भारतीय नागरिक भएको पुष्टि भइसकेको छ । तर, उनलाई छुटाउने नियतले केही सरकारी अधिकारी तथा बिचौलियाहरूले भारतीय निर्वाचन आयोगको मतदाता नामावलीबाट नाम हटाउन सफल भएका छन् । भारतीय मतदाता नामावलीबाट सिंहको नाम हटाउँदै उनीहरू उनी नेपाली भएको प्रमाणित गराउन लागिपरेका छन् ।

उनी ७७ ग्राम ब्राउनसुगरसहित धरानबाट स्कारपियोमा सवार अवस्थामा पक्राउ परेका थिए । सिंहलाई राजनीतिक दबावका साथै आर्थिक चलखेल गर्दै छुटाउन सरकारी निकाय नै लागिपरेको स्रोतले आरोप लगाउँदै आएको छ । यथेष्ट प्रमाण भएर पनि पक्राउ परेका सिंहलाई प्रहरीको अनुसन्धान सकिए पनि बहसका लागि अदालतमा नबुझाउँदा उक्त आरोपमा बल पुगेको देखिन्छ ।
सिंह भारतीय भएको प्रमाणसँगै नेपालमा सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस–२ बाट कीर्ते गरी नागरिकता लिएको कुरा पुष्टि भइसकेको छ । राजकुमार सिंहको आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको पुष्टि भएको हो ।
२०२१ फेब्रुअरी ५ तारिखमा राजकुमार सिंहको भारतीय निर्वाचन आयोगमा मतदाता परिचयपत्र अद्यावधिक भएको प्रमाणसमेत फेला परेको छ । सप्तरीको तत्कालीन पकरी गाविस–२ बाट ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई सिंहले कीर्ते नेपाली नागरिकता लिएको देखिन्छ ।
कीर्ते नागरिकताबाट सवारी चालक अनुमतिपत्र लिएका उनको उक्त सवारी अनुमतिपत्रमा नागरिकता नम्बर २÷०७३९३११३ उल्लेख गरिएको छ भने लाइसेन्स नम्बर ०१–०२–००३५९७८० रहेको छ । २/०७३९३११३ नम्बरको नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नभएको बताए पनि उनको नाममात्र अभिलेखमा उल्लेख रहेको स्रोतको दाबी छ ।
सिंह भारतीय हुनुका साथै कीर्ते गरी नेपाली नागरिकता लिएकाले कानूनबमोजिम छानबिन गरी कारबाही गरी पाउँ भनी प्रमाणसहित माघ २७ गते उजुरी परेको थियो । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आवश्यक छानबिन गर्न सिंहको नागरिकताको विवरण माग गरिएकोमा निजको नामबाहेक अन्य अभिलेख नभेटेको र खोजी कार्य भइरहेको भनी जवाफ आएको सुनसरी प्रहरीले बताउने गरेको छ ।