झापा । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा हुने गरेको विकृति तथा ठगी तथा शाखा कार्यालयलाई नियमन गर्ने उदेश्यले अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने युवा–युवती नठगिउनु भनेर वैदेशिक रोजगार विभाग काठमाडौंले मेनपावरका शाखा कार्यालयमा अनुगमन गरेको हो ।
वैदेशिक रोजगार विभागबाट अनुगमन टोली आएको सूचना पाएपछि झापा बिर्तामोडमा अवैधानिकरुपमा सञ्चालित मेनपावरले वोर्ड लुकाएर कार्यालय बन्द गरेका छन् । उनीहरुले शाखा दिने व्यवस्था मिलाउन विभागसँग माग गर्दै विभागको नियमानुसार आफुहरु शाखा दर्ता गर्न तयार रहेको बताएका छन् ।
विभागबाट आएको अनुगमन टोलीले झापामा सञ्चालीत मेनपावरका शाखा कार्यालयहरु अनुगमन गरिरहेको छ । अनुगमनकै क्रममा मंगलबार टोलीले झापा दमकमा अवैधानिक रुपमा सञ्चालीत लायन इन्टरनेशनल मेनपावरको शाखा शील गरेको छ ।
३४० दर्ता नम्वर रहेको उक्त मेनपावरको शाखा सञ्चालन गर्ने अनुमति नभएका कारण बन्द गरेको टोलीका शाखा अधिकृत मात्रिका सापकोटाले जानकारी दिए ।

विभागबाट सापकोटाको नेतृत्वमा आएको ४ जनाको टोलीले झापामा सञ्चालीत शाखा कार्यालयहरुमा अनुगमन गरेको छ । अनुगमनको शिलशिलामा बिर्तामोडमा सञ्चालीत मेमोसा ओभरसिजले पूर्व स्वीकृति विनै अन्र्तवार्ता गरिरहेको पाइएपछि त्यस शाखा कार्यालयलाई आइतवार शिल गरेको थियो ।
उनले झापामा १३ वटा शाखा कार्यालय वैधानिक भएको बताए । ‘वैधानिक भएर मात्र हुँदैन’ शाखा अधिकृत सापकोटाले भने ‘हामीले अनुगमन गर्दा मिमोसाले अन्र्तवार्ता गरिरहेको थियो, पूर्व स्वीकृति माग्दा नभेटेपछि हामीले कार्यालय शिल गरेका हौं ।’
ठगि बढेको भन्ने गुनासो आएकाले अनुगमनमा आएको बताउँदै शाखा अधिकृत सापकोटाले भने ‘हाम्रो टोली आएको खवर पाउनासाथ अवैधानिक रुपमा सञ्चालीत मेनपावरहरुले बोर्ड लुकाएर कार्यालय बन्द गरेर बाहिर उभिनुभयो ।’ उनले अनुगमन नियमित रुपमा गर्दै जानेसमेत बताए । सापकोटाले ओरन्टेशन कक्षा र मेनपावर गरी ४/५ वटा मात्र कार्यालय अनुगमन गरिसकेको जानकारी दिए ।
यता मेमोसा ओभरसिज सञ्चालकले अनुगमन टोलीले कार्यालयको टेवलमा कसैले छोडेको वेवारिसे डिमाण्डलाई आधार बनाएर शिल गरेको बताएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकले सरकारले चाँडो शाखा दर्ता गर्ने व्यवस्था ल्याउन आवश्यक रहेको बताए । ‘सरकारको अनुगमन र नियमन ठीक छ’ अध्यक्ष पन्धाकले भने ‘शाखा नदिदा अवैधानिकताले प्रसय पाउछ ।’
ट्रष्ट नेपाल ओभरसिज बिर्तामोडका सञ्चालकसमेत रहेका पन्धाकले वैदेशिक रोजगारीमा विकृति, ठगी रोक्न चाँडो भन्दा चाँडो शाखा दिनु पर्ने उनले बताए ।
टोलीले मेनपावरको शाखा कार्यालय आधाकारिक हो होइन, नियम अनुसार सञ्चालन भएको छ छैन, वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगिमा परेका छन् कि भन्नेलगायतको विषयमा अनुगमन गर्ने वैदेशिक रोजगार विभाग निर्देशक (सूचना अधिकारी) टिकामणि न्यौपानेले बताए ।
८ सय ५४ वटा मेनपावर दर्ता रहेको बताउँदै २०७३/०७४ मा २६ वटा मात्र शाखा कार्यालय वैधानिक रहेको उनले बताए । नयाँ शाखा दिने कानुन बनिनसकेकाले बनेपछि शाखा दिने न्यौपानेले जानकारी दिए ।
झापामा शिवाकोटी मेनपार, अञ्जली ओभरसिज, पुकार इन्टरनेशनल, फजल इन्टरनेशनल, ट्रष्ट ओभरसिज, मेमोसा ओभरसिज, शान इन्टरनेशनल ग्रुप, जुपिटर ओभरसिज, द रिभर ओभरसिज, ओशो रिक्रुटिङ, डि प्रोटोन, राज ओभरसिज, ह्युमर ओभरसिजको शाखा कार्यालय बैधानिक भएको विभागको टोलीले जनाएको छ ।