दोस्रो चरणको पहिलो फेज अन्तर्गतको तीन दिनको अवधिमा सुनसरीमा २२ हजार ४ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार दोस्रो चरणको अभियानमा खोप लगाउनेको संख्या दिनानुदिन बढ्दो क्रममा छ । 

कार्यालय प्रमुख सागर प्रसाईका अनुसार खोप लगाउनेमा जेष्ठ नागरिकको सहभागिता उत्साहजनक छ । अधिकांश स्वास्थ्य संस्थामा खोप लगाउन पुग्नेमा जेष्ठ नागरिक बढिरहने गरेको प्रसाईले बताए । 

सुनसरीमा ५ दिनको लागि भनेर दोस्रो चरणको पहिलो फेजको खोप अभियान संलालनमा ल्याइएको छ । 

अभियान अन्तर्गत केही स्थानीय तहले भने तीन दिनको लागि भनेर अभियान संचालनमा ल्याए पनि खोप लगाउनेको संख्या अत्यधिक देखिएपछि समय थप गर्नु परेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । 

कार्यालयले अघिल्लो चरणको अभियानमा कम सहभागितालाई हेरी दोस्रो चरणको लागि ४२ हजार डोज मात्र भण्डारण गरेको थियो । अपेक्षा गरिए भन्दा बढी सहभागिता देखिन थालेसँगै स्वास्थ्य कार्यालयले खोप अभाव हुन सक्ने आंकलन गरेको छ । 

उसले अभियानको समय अझै दुई दिन समय बाँकी रहेको र अत्यधिक मागसमेत आउन थालेकाले खोपको उपलब्धतामा कमी आउन सक्ने जनाएको छ । 

स्वास्थ्य कार्यालयले कम उपस्थिति देखिएका केन्द्रका हकमा माग बढिरहेको स्वास्थ्य संस्थामा समायोजन गरी खोप लगाउन थालिएको जनाएको छ । 

स्वास्थ्य प्रमुख सागर प्रसाईले अप्रत्यासित रुपमा खोप लगाउनेको संख्या बढेको बताए । जसलाई उनले सर्वसाधारणको चेतनामा वृद्धि भएको रुपमा लिएको बताए । प्रसाईले पछिल्लो अभियान अन्तर्गत ६५ वर्ष माथिकासहित सरकारले तोकेको वर्ग र समूहलाई खोप लगाउदै आएको बताए । 

यस अघि सुनसरीमा संचालित पहिलो चरणका दुई फेजमा ९ हजार ५ सय जनाले कोरोनाको खोप लगाएका थिए । 

सो अवधिमा अग्रभागमा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकका साथै प्राथमिकताका आधारमा जनप्रतिनिधि सहित स्थानीय तहका कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको हकमा खोप कार्यक्रम संचालनमा ल्याइएको थियो ।