भद्रपुर । झापाको एउटा औषधि पसलले एउटाको विमा काडबाट दोस्रो व्यत्तिलाई उपचार गराउँदै रकम असुल्ने गरेको पाइएको छ ।

उपचारका लागि मेची अञ्चल अस्पताल पुगेकी भद्रपुर ८ की २२ वर्षिया गर्भवती महिला ममता विकलाई अस्पताल परिसरमा सञ्चालित शुष्मा मेडिकल हलले उपचार गराएवापत रकम असुल गरेको पीडित महिलाको आरोप छ । 

गर्भवति महिलालाई मेडिकलका दाताराम र गोमा सिटौलाले भद्रपुर ८ की दिपीका राजवंशीको स्वास्थ्य बिमा कार्ड प्रयोग गरी विकको उपचार गराएका थिए ।  उनीहरुले दिपीकालाई पनि परिवारमा राखेर बिमा कार्ड बनाएका थिए ।

दाताराम घर मुली राखेर दीपीकालाई संरक्षकको रुपमा स्वास्थ्य बिमा काड बनाएका थिए ।  उपचार पश्चात मेडिकलले २२ सय रुपैयाँ लिएको पीडितका श्रीमान प्रकाश खडकाले बताए । उपचार गराएवापत कुनैपनि पुर्जा विरामीलाई नदिएको उनको भनाइ छ ।

उपचारको क्रममा उनीहरुले डेलिभरीका लागि ६० हजार रुपैयाँ जति खर्च हुने बिरामीलाई भनेका थिए । धेरै रकम लाग्ने भएपछि खर्च जोहो गर्न लागे । उनीहरु एक महिना यता देखि भद्रपुर ८ मा रहेको लभकुश आश्रममा बस्दै आइरहेका छन् ।

सोही क्रममा आश्रमकी अध्यक्ष रञ्जु शर्माले यो कुरा थाहा पाइन् । रञ्जुले थाहा पाएपछि विरामीका परिवारलाई लिएर उनीहरु शुष्मा मेडिकल पुगेपछि घटना सार्वजनिक भएको थियो । अस्पतालको पुर्जामा राजवंशीको उमेर १७ वर्ष उल्लेख गरि डेलिभरी(अल्ट्रा साउण्ड) लगायतको चेकजाँच गरिएको छ । 

अस्पतालका रेडियोलेजिष्ट सञ्जय शर्माले चेकजाँच गरेको पुर्जामा उल्लेख छ ।  पटक– पटक सोही नामबाट चेकजाँच गराइएको छ । अन्तिम पटक जनवरी २८ मा दिपीकाको विमा नम्बर ०६८८३१७११ बाट २ हजार ४ सय रुपैयाँ खर्च देखिएको छ ।

घटना सार्वजनिक भएपछि फागुन २० गते ममताको ओपिडी पुर्जा मार्फत चेकजाँच गरिएको छ । उनको उमेर २२ वर्ष रहेको छ भने चिकित्सकले २६ गते बुधबारको मिति दिएको रञ्जुले बताइन् । 

 बिमा काडको दूरुपयोग गरेर यस्तो गैरकानूनी धन्ना नचलाउनु भन्दै बिमाका सवै कागजपत्र फार्मेसीलाई नै फिर्ता दिएको शर्माले बताइन् । ज्याला मजदुरीबाट जिवीकोपार्जन गर्दै आएका यस्ता गरिबबाट रकम असुल्नु गम्भिर त्रुटी भएको  उनले बताइन् ।

यस्ता घटना ती क्षेत्रमा धेरै हुन सक्ने उनले बताइन् ।  १७ वर्षको उमेरकी महिला डेलिभरी चेक जाँचमा आउँदा अस्पतालमा बसेका स्वास्थ्यकर्मीको आँखा नपर्नु अचम्म लागेको उनको भनाइ छ । मेची अञ्चल अस्पतालमा बिमा सम्बन्धी काम अव्यवस्थित भएको स्वास्थ्य बिमा बोर्ड झापाकी प्रमुख लक्ष्मी कणेलले बताइन् ।

यो भएको हो भने गम्भिर विषय आएको उनको भनाइ छ ।  अस्पतालको चरम लापारबाही भएको उनको भनाइ छ । 

यस विषयमा आफुलाई जनकारीमा नआएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट पिताम्बर ठाकुरले बताए । के भएको  रहेछ औषधि बिक्रेतालाई सोध्ने उनले आश्वासन दिए । मानविय अवस्थालाई हेरेर बिमा कार्ड प्रयोग गरिएको मेडिकल हलकी गोमा सिटौलाले बताइन् ।

बिरामीबाट रकमको लेनदेन नभएको उनले ठोकुवा गरिन् । विरामीकी आमा चिनजान भएकोले काड दिएर सहयोग मात्र गरेको उनले जनाइन् ।