धरान । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सुनसरीले चार दिने सामुदायिक प्रशिक्षक कोर्ष बिहीबार सम्पन्न गरेको छ ।
प्रशिक्षक कोर्समा विभिन्न जिल्लाका ३० जना सहभागी बनेका थिए । सुनसरी जिल्ला स्तरीय मात्रै भए पनि उदयपुर, खोटाङ, सोलुखुम्बु र तेह्रथुमका पनि सहभागी बनेको कार्यक्रम संयोजक एवम् एन्फाका जिल्ला उपाध्यक्ष नवीन राईले जानकारी दिए । एन्फाले विगत वर्षहरूमा सिधै ‘सी’ तहको प्रशिक्षक कोर्ष दिँदै आएको थियो ।
तर, केही वर्षयताबाट सामुदायिक प्रशिक्षक कोर्ष लिएका प्रशिक्षकलाई मात्रै ‘सी’ तहको प्रशिक्षक कोर्ष लिन पाउने प्रावधान बनाएको उनले जानकारी दिए ।
उनका अनुसार सुनसरीका २५, उदयपुरका २ र अन्य जिल्लाका एक–एकजना सहभागी बनेका थिए । एन्फाले चार तहको प्रशिक्षक तालिम दिँदै आएको छ । सी तहको प्रशिक्षण लिएकालाई बी तहको र बी तहका प्रशिक्षण लिएकालाई ए तहको प्रशिक्षण दिने गरिएको छ । त्यसभन्दा माथिल्लो तहको प्रशिक्षणलाई ‘प्रो’ भनिन्छ ।
सहभागीहरूलाई एन्फाले सहभागिताको प्रमाण पत्र प्रदान गरेको छ । अबको केही दिनमा एन्फाले लाइसेन्सको प्रमाण पत्र पठाउने उपाध्यक्ष राईले जानकारी दिए ।
उनीहरूलाई सहभागिताको प्रमाण–पत्र एन्फाका प्रदेश १ अध्यक्ष किशोर राई, एन्फाका केन्द्रीय सदस्य दीपक राईलगायतले प्रदान गरेका थिए ।
सोमबारदेखि सुरु भएको प्रशिक्षणमा एन्फा हेड अफ कोच एजुकेसनका प्रशिक्षक हेड कोच सञ्जीव सिंहले प्रशिक्षण गराएका थिए । त्यस्तै ए लाइसेन्स होल्डर दर्शन भक्तराज, श्याम मानन्धर, महिलाको राष्ट्रिय कोच भगवती राना मगरले प्रशिक्षण गराएका थिए ।