धरान । यस सिजनको अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप हुने–नहुने अन्यौलताका बीच न्यून सम्भावना अझै जीवित छ । 

तर, त्यसका लागि स्थानीय सरकार धरान उपमहानगरपालिकाले अभिभावकत्व ग्रहण गर्नुपर्ने हुन्छ । ‘बूढासुब्बा हुने सम्भावना अझै जीवित छ, तर त्यसको अभिभावकत्व स्थानीय सरकारले लिनुपर्छ’ शुक्रबारको पत्रकार सम्मेलनमा आयोजक क्लब धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले भने । 

बूढासुब्बा आयोजक धरान फुटबल क्लबले लगभग यसपटक बूढासुब्बा गर्न नसकिने भन्दै हात उठाएको छ । बूढासुब्बा गर्न नसक्ने पहिलो कारणमा कोरोना महामारीलाई लिइएको छ । बूढासुब्बा आयोजना गर्नका लागि मूल स्रोतका रूपमा बजार हो । बजारबाट क्लबले ७५ प्रतिशत आर्थिक स्रोत जुटाउने गरेको थियो । बाँकी २५ प्रतिशत क्लबले प्रायोजकबाट जुटाउने गरेको थियो । यसपटक कोरोना महामारीले बजार धरासायी भएकाले यस वर्ष त्यो सम्भावना न्यून रहेको अध्यक्ष राईले बताए । 

‘हामीले यी यस्तै कारणले यसपटक बूढासुब्बा गर्न सक्दैनौं’ उनले भने, ‘तर, स्थानीय सरकारले त्यसको जिम्मेवारी लिइदियो भने अझै सम्भावना जीवित छ ।’ उनका अनुसार विराटनगरमा हुन लागेको विराट गोल्डकपको अवस्था पनि धरानको बूढासुब्बाको भन्दा फरक नहरेको अवस्था थियो । तर, त्यहाँको स्थानीय सरकारले विराट गोल्डकप गराउने सम्पूर्ण जिम्मेवारी लिएका कारण हुन लागिरहेको उनले दाबी गरे । 

‘त्यहाँको जस्तो अवस्था भयो भने हाम्रो पनि हुन्छ’ अध्यक्ष राईले भने । उनी एन्फाका प्रदेश १ अध्यक्ष समेत हुन् । २०५५ सालदेखि निरन्तर हुने प्रतियोगितामध्ये बूढासुब्बा पनि एक हो । दश वर्षे सशस्त्र द्वन्द्व तथा मधेश आन्दोलन जस्ता विषम परिस्थितिमा समेत प्रभावित नभएको बूढासुब्बा यसपटक भने आयोजकले आर्थिक अभाव देखाउँदै गर्न नसक्ने जनाएको हो । क्लबले २२ औं संस्करणको विजेता तथा उपविजेतालाई हालसम्म पुरस्कारबापतको नगद प्रदान गर्न नसकेको तीतो सत्य पनि ओकलेको छ । 

उसले कारण बताउँदै भनेको छ, ‘प्रदेश १ सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दिने भनेको १० लाख र ५ लाख रुपैयाँ दिइएन । संस्थागत, पार्टीगत विभिन्न तरिकाले जाँदा पनि प्रदेश सरकारले दिन नसक्ने भन्यो ।’ २२ औं संस्करणको विजेता क्लब मनाङ मस्र्याङ्ग्दी क्लब काठमाडौंलाई २ लाख ५० हजार रुपैयाँ मात्रै दिन सकिएको क्लबका महासचिव प्रताप तामाङले बताए । 

२३ औं संस्करण गराउन नसकेमा क्लबले धरानवासी तथा फुटबलप्रेमीसँग माफी मागेको छ । ‘प्रतियोगिता गराउन नसकेकोमा हामी दुखित छौं’ क्लबका अध्यक्ष राईले भने, ‘क्लबले यसमा क्षमायाचना पनि गर्छ ।’ स्थानीय सरकारले आवश्यक बजेट विनियोजन गर्न र धरानको गरिमा बूढासुब्बालाई बजेट विनियोजन नगरेकोमा क्लबले आक्रोस व्यक्त गरेको छ ।

धरान उपमहानगरका प्रमुख तिलक राईले बूढासुब्बा गोल्डकपको विषयमा नगरसँग छलफल नभएको बताए । ‘बूढासुब्बा गर्ने नगर्ने भन्ने विषयमा हामीसँग छलफल भएको छैन’ उनले भने, ‘बूढासुब्बा नहुने भन्ने विषयमा मैले तपाईंबाटै सुन्दैछु ।’ उनले कोभिडका कारणले हो भने क्लबले अनावश्यक खर्च कटौती गरे पनि आयोजना गर्नुपर्ने बताए । 

‘कोभिडले गर्दा प्रदेश र केन्द्र सरकारबाट स्थानीय सरकारलाई आउने बजेट नै कम छ । नगर आफैले पनि अनावश्यक खर्च कटौती गरेर काम गरिरहेका छौं, क्लबले पनि अनावश्यक खर्च कटौती गरेर गर्दा राम्रै होला’ उनले भने, ‘धरानले सबभन्दा बढी त फुटबल मै लगानी गरेको होला । अब क्लबको स्थिति के छ भनेर हामीसँग त्यो विषयमा छलफल भएको छैन ।’ उनले छलफल गरेमा त्यसविषयमा सोच्ने पनि बताए ।