जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा सिल गरेको चामल जनप्रतिनिधिकै भएको निष्कर्ष निकालेको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिले कोरोना महामारीको बेला गरिब जनताका नाममा आएको चामल लुकाएको स्थानीयले प्रशासनसमक्ष  गुनासो गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्दै जाँदा जनप्रतिनिधिकै चामल भएको निष्कर्ष निकालेको हो । 

राहतको चामल वितरण नगरी भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ४ र ८ का अध्यक्षहरूले लुकाएर राखेको स्थानीयवासीको गुनासोपछि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट खटिएको टोलीले सूचनाअनुसार नै चामल भेटिएपछि सिल गर्दै छानबिन गरेको थियो ।

इनरुवा महेन्द्र चोकस्थित युवराज दाहालको घरमा भेटिएको ४ सय ५० बोरा चामल जनप्रतिनिधिकै भएको छानबिनका क्रममा पाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । ‘वडाध्यक्षहरूले राहतको चामल लुकाएर राखेको स्थानीयबासीको आरोप आएपछि हामीले चामल भएको कोठा सिल गर्दै तत्कालै अनुसन्धान थाल्यौं’ उनले भने, ‘तर, अनुसन्धान गर्दा त्यस्तो पाइएन ।’ 

घरधनी युवराज दाहालले सञ्चारकर्मीसमक्ष भोक्राहा नरसिंह गाउँपालिका–४ का वडाध्यक्ष हारुन अन्सारीले तिहारको एकदिन अगाडि अर्थात् कात्तिक २६ गते कोठा भाडामा लिई चामल भण्डारण गरेर राखेको प्रतिक्रिया दिए पनि पछि उनले बोली फेर्दा जनप्रतिनिधि जोगिएको स्रोत बताउँछ । 

वडाध्यक्ष अन्सारीले कात्तिक २६ गते चामल भण्डारण गरे पनि माघ ३ गते खरिद गरेको बिल जिल्ला प्रशासन कार्यालयमा पेश गरेका थिए । सुरुमा घरधनी दाहालले कात्तिकअघि चामल भण्डारण गरेको बताएकोमा पछि जिल्ला प्रशासनमा वडाध्यक्षले पेश गरेको माघ ३ गतेकै बिलमा चामल भण्डारण गरेको बयान दिएपछि उनीहरूलाई राहत मिलेको हो ।

यता भोक्राहा नरसिंह गाउँपालिका–४ का अध्यक्ष अन्सारीले आफूले व्यापारिक प्रयोजनका लागि चामल खरिद गरेको बताउँदै आफ्नो राजनीति सखाप पार्ने उद्देश्यले केही व्यक्तिले गलत प्रचारबाजी गरेकोमा दुःखी भएको बताए । हुँदै नभएको आरोप लगाइए पनि आफू निर्वाचित भएदेखि जनमुखी काम गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने उनको दाबी छ ।