इटहरी। इटहरीका एक कन्सल्टेन्सीका सञ्चालकद्वय दीपकप्रसाद ढुङ्गेल र विशाल आचार्यले युवाहरूबाट लाखौं रकम उठाएर फरार भएका छन् ।
युवाहरूलाई रोजगारीका लागि विदेश पठाउने भन्दै २ लाख ५० हजारदेखि २ लाख ७० हजार रुपैयाँसम्म उठाएर फरार भएका हुन् । मोरङको बेलबारी–४ का टङ्कप्रसाद दाहालले ऋण गरेर कन्सल्टेन्सीमा बुझाएको रकम लिएर सञ्चालक फरार हुँदा चिन्ताले सताएको बताए ।
एकाएक सञ्चालकहरू कार्यालय नै छोडेर भागेको पाइएपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी र श्रम तथा रोजगार कार्यालय विराटनगरमा खोजी गरी कारबाहीको दायरामा ल्याइदिन माग गर्दै उजुरी दिएका छन् । इटहरी उपमहानगरपालिकामा भर्खरै दर्ता गरिएको कन्सल्टेन्सीले युएई मात्रै नभई युरोपियन मुलुकमा समेत पठाउने भन्दै रकम उठाएको युवाहरूले बताएका छन् ।
इटहरी उपमहानगरमा २२२०५०/२०७६/२०७७ मा दर्ता भई पान नम्बर ६१२४८९१७ समेत लिएको कन्सल्टेन्सीले ठगी गर्नकै लागि मात्रै संस्था दर्ता गरेको हुनसक्ने आशङ्का गरिएको छ । युवाहरूलाई युएई हुँदै फ्रान्ससम्म पु¥याउने आश्वासन दिएर रकम सङ्कलन गरिएको हो ।

इटहरी–४ का टेकबहादुर कार्कीका अनुसार रकम लिनेह्ररूले अनलाइन फारम भराएर प्रक्रिया स्वीकृत भएको आश्वासन दिने गरेका थिए । दुबईमा रहेको कम्पनीमार्फत् रोजगारीका लागि पठाएको निवेदन स्वीकृत भएको भन्दै उनीहरूले युवाहरूलाई झुक्याएका हुन् ।
आइतबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा वैदेशिक रोजगार ऐन २०६४ को दफा ४० बमोजिम कसुर गरेकोले ऐ. ऐ (क) को ४३ मुताविक कारबाही गरिपाउँ भन्दै पीडितमध्येका कार्कीसहित ३७ जनाले उजुरी गरेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले वैदेशिक रोजगारमा ठगी गरेको भन्दै प्रहरीमा पीडितहरू आएको बताए । ‘उहाँहरू आए पनि हामीले कारबाही गर्न सक्दैनौं श्रम विभाग जानू भनेको थिएँ’–डिएसपी केसीले भने । विदेश पठाउने भन्दै कागज नै गरेर सञ्चालकहरूले ठगी गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ठगीमा परेकामध्ये इटहरी–१८ का लक्ष्मणकुमार चौधरीसमेत ३७ जनाले नै जिल्ला प्रशासन कार्यालय सुनसरीमा समेत उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई फरार सञ्चालकद्वयको खोजी गरी पक्राउ गर्न निर्देशनसमेत दिइसकेको छ । तर, पक्राउ गर्ने दिएको निर्देशन बारे भने इटहरी प्रहरीलाई थाहा नभएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।