विजयपुर / अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रदेशस्तरीय अण्डर १३ प्रतिस्पर्धामा धरान–१७ स्थित सरस्वती चोकका १२ वर्षीय सुमन विश्वकर्मा (बराइली)लाई छनौट गरेको छ । फुटबलको प्रदेशस्तरीय छनौटमा पर्नु सुमनका लागि ठूलै सफलता बन्यो ।
स्थानीय दीपेन्द्र आधारभूत विद्यालयमा कक्षा–५ अध्ययनरत सुमनको पढाइ मध्यम्स्तरीय भएपनि फुटबलका लागि राम्रो बालखेलाडीका रूपमा परिचित छन् ।
फुटबलमा गरेको मिहिनेतकै कारण उनी एन्फाको अण्डर १३ को प्रदेशस्तरीय बालखेलाडीको रूपमा छनौट हुन सफल भएका हुन् । बाल्यकालमै रमाइरहेका उनको आर्थिक र पारिवारिक अवस्था भने नाजुक छ । नाजुक भएकै कारण उनले सानैमा अनेक हण्डर खाँदै आएका छन् ।
फुटबल खेलमा राम्रो प्रदर्शन गरेकाले उनलाई विद्यालयका प्रधानाध्यापक पर्वत सञ्जेलले पहिचान दिलाउने भूमिका खेलेका छन् । दुःख पाएका अन्य बालबालिकाको जस्तै सुमनको कथा पनि दुःखपूर्ण रहेको छ । उनका बुबा सुरेश विक छालाको रोगका कारणले काम गर्न सक्दैनन् ।
आमा करिस्मा बोल्न सक्दैनन् ।जीविका चल्ने गतिलो आयस्रोत केही छैन । मागेरै गुजारा चलाउँदै आएकाले आर्थिक अवस्था झन् दयनीय छ । परिवारको आर्थिक अवस्था राम्रो नभएपछि निजी विद्यालयमा अध्ययन गर्न त पाएनन् नै सामुदायिक विद्यालयमा पनि अध्ययन गर्ने वातावरण पाएनन् ।
दैनिक बिहान बेलुका खानसमेत समस्यासँग जुझिरहेका सुमन कक्षा ३ सम्म पढ्दा पढ्दै मोटरसाइकलको वर्कसपमा बालमजदुरको रूपमा काम गर्न पुगेका थिए । केही समयपछि प्रध्यानाध्यापक सञ्जेलले सुमनलाई काम गर्दै गरेको अवस्थामा भेटेपछि सञ्जेलले फेरि अध्ययन र फुटबलमा अवसर दिने सोचेर फर्काउने प्रयास गरेका थिए । सञ्जेलले भने, ‘सुमन काम गरिरहेको वर्कसपबाट निकाल्न गाह्रो प¥यो ।
कामबाट छुटाएर लान खोज्दा वर्कसप सञ्चालकले नदिएपछि विवाद भयो । विवाद गरेरै भए पनि सुमनलाई बालमजदुरी गर्नबाट छुटाएर ल्याएँ ।’ विद्यालयमा भर्ना गरे पनि फेरि बीचैमा पढाइ छाडेर ग्रिलको काम गर्न गए । ग्रिलबाट पनि सञ्जेलले नै फर्काएर ल्याए । सुरुमा उनले विद्यालयमा शिक्षक शिक्षिकालाई पत्याउँदैनथे । उनको व्यवहार पनि रुखो भएकाले विद्यालयमा पुनः प्रवेश गराउँदा कतिपय आफ्नै स्टाफहरू रिसाएको सञ्जेलले बताए ।
सुमनको अभिभाकत्व आफैले ग्रहण गरेर विद्यालयमा टिकाएर धरानमा हुने विद्यालयस्तरीय फुटबल खेलमा सुमनलाई सहभागी गराउन थालेपछि पराजय हुन नपरेको सञ्जेलले बताए । विद्यालयस्तरीय फुटबल प्रतिस्पर्धामा सुमनकै कारण आफ्नो विद्यालयले उपाधि जितेपछि अहिले अध्ययन गर्न र फुटबललाई सँगै लैजान विद्यालयले व्यवस्थापन गरेको सञ्जेलले बताए । सुमनका बारेमा फुटबलका पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइलीले भने, ‘राम्रो वातावरण पाउँदै गएमा सुमनले फुटबलमा राम्रो प्रदर्शन गर्नेछन् ।’
जब सुमन एन्फाको अण्डर १३ को प्रदेशस्तरीय छनौटमा परे त्यसपछि विदालय प्रवेश गराउँदा रिसाउने स्टाफहरुले नै सामुहिक फोटो खिचेर खुशी साटेको सञ्जेलले भने । एन्फामा छनौट भएपछि १ दाजु र १ बहिनी रहेका सुमनले खुशी हुदै व्लाष्टलाई भने, ‘पहिले विद्यालय छोडेर हिनेपनि अवदेखि पढाइ र फुटबल संगसंगै बढाउने छु । फुटवल मेरो प्रिय खेल हो । त्यसैले खेल्न मन लाग्छ ।’