इनरुवा । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले जिल्लामा भिडभाड जन्य गतिविधिमा रोक लगाएको छ । 

सुनसरीको सवालमा समन्वय बैठकले मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रम जस्ता भिडभाड हुने कार्यक्रम नगर्ने र हुन नदिने भनेको छ । यद्यपि, मेला भने दैनिक जसो निर्वाध लागिरहेको छ ।

जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख सहित प्रजिअ र सुरक्षा निकायका प्रमुख सम्मिलित रहने बैठकले चैत्र ३१ गते उक्त विषयमा सहमती जुटाउदै निर्णय सार्वजनिक गरेको थियो । तर, निर्णय भने ठोस रुपले कार्यान्वयनमा आएको देखिदैन् । 

सुनसरीमा बैशाख महिनाभर हरेक दिनजसो विभिन्न पालिकामा सिरुवा मेला लाग्ने गर्छ । बैशाख १ गतेबाट आजसम्म हरेक दिन मेला लागिनै रहेको छ । 

केही स्थानमा प्रहरीले मेला उठाएको समेत छ । यद्यपि, प्रहरीको उपस्थिती उजुरी परेको खण्डमा मात्रै हुने गरेको छ । अन्यथा मेला निर्वाध संचालन भैरहेको स्वयं व्यापारीहरु बताउछन् । 

जसको पछिल्लो उदाहरण सुनसरीको औरावनीमा रहेको गढी थानमा आज निकै ठूलो मेला लागेको छ । मेला प्रहरी चौकी नजिकैको वनमा लागेको छ ।

सुनसरी प्रशासन भने जानकारी आए सम्मका स्थानमा मेला संचालनमा रोक लगाइएको बताउँछ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले इटहरी क्षेत्रमा लगाइएको मेला उठाइएको बताए । उनले अन्य स्थानमा समेत रोक लगाइएको कार्य नगर्न र नगराउन भनिएको बताए । 

प्रजिअ ढकालले कोरोनाको जोखिम बढेकाले भिडभाडका गतिविधिले संक्रमण फैलाउने सम्भावना रहेकाले स्वयं नागरिक सचेत बन्न आवश्यक रहेको बताए । उनले मेला तथा महोत्सव संचालनका सवालमा स्थानीय तह बढी जानकार हुने भएकाले त्यस्ता गतिविधि हुन नदिन समन्वयात्मक रुपमा अघि बढ्न आवश्यक भएको औल्याए । 

यता प्रशासनको मेला रोक्ने निर्णय सार्वजनिक भएसँगै विभिन्न क्षेत्रका स्थानीयले भने असन्तुष्टि पोख्दै आएका छन् । उनीहरुले पार्क, तथा होटल, दैनिक हाट बजारको अव्यवस्थित भिड नियन्त्रणमा ध्यान नदिएको प्रशासनने धार्मिक कार्य सँग जोडिएको मेला मात्र रोक्न खोज्नु दुखद भएको बताएका छन् ।