पार ७० को धरान गल्फ कोर्षमा ५ अण्डर ६५ स्कोर गर्दै १३ ह्याण्डीक्याप नयन राईले इन्द्र बराह मेमोरियल एमेच्योर खुल्ला गल्फ प्रतियोगिताको छैठौं संस्करणको उपाधि जितेका छन् । 

शनिबार सम्पन्न स्पर्धामा ३ ह्याण्डीक्याप घटाउँदै च्याम्पियन राईले ट्रफी र १५ हजार बराबरको गिफ्ट भौचर पाए । 

प्रतियोगितामा ४ अण्डर ६६ स्कोर गर्दै भरत तामाङ दोस्रो भए । ट्रफीसँगै तामाङले १० हजार बराबरको गिफ्ट भौचर पाए । उनले २ ह्याण्डीक्याप घटाउँदै ११ मा सिमित राखे । ३ अण्डर ६७ स्कोर गरेका बलबहादुर राई प्रतियोगितामा तेस्रो भए । उनी २ ह्याण्डीक्याप घटाउँदै २१ मा आए ।

प्रतियोगितामा १ अण्डर ६९ स्कोर गर्दै आकाश राईले बेस्ट ग्रसको उपाधि जिते । १ ह्याण्डीक्याप घटाएर उनी ४ मा आए ।  

प्रतियोगितामा महिलातर्फ सुमित्रा लिम्बू विजेता भइन् । शुसिला राई उपविजेता भइन् । सिनियरतर्फ तुलसीराम लिम्बू विजेता भए । जुनियरतर्फ सिद्धान्त सापकोटा विजेता भए । मोस्ट बर्डीको उपाधि उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भीम दाहालले जिते । लङ्गेस्ट ड्राइभको उपाधि हेमन्त थापा र नियरेष्ट टु दि पिन टेकबहादुर राई घोषित भए ।

विजेतालाई धरान गल्फ क्लबका अध्यक्ष टीका लिम्बू, धरानका मेयर तिलक राई, प्रायोजक बराह ग्रुपका अध्यक्ष शिव लामिछानेलगायतले पुरस्कार हस्तान्तरण गरे ।