धरान। नेपालसँग सिमाना जोडिएको भारतको बिहारसहित विभिन्न प्रान्तमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुनसरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दो छ ।

सङ्क्रमितको सङ्ख्या बढेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या एकसाता यता उल्लेख्यरूपमा वृद्धि भएको छ । यसअघि करिब तीन महिना जति सुनसान जस्तै रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा पछिल्लो समयमा १५ जना भर्ना भएका छन् ।

तीमध्ये दुईजना आइसियुमा र दुईजना हाईडिपेण्डेन्सी युनिटमा भर्ना भएका छन् । प्रतिष्ठानका सह–प्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार शनिबारमात्र पाँचजना नयाँ सङ्क्रमित भर्ना भएका छन् । थपिएका नयाँ सङ्क्रमितहरूमा कोरोनाको कुन भेरिएण्ट हो भन्ने अहिलेसम्म जानकारीमा आएको छैन ।

कोरोनाको नयाँ भेरिएण्ट तीव्र सङ्क्रमण गर्ने खालको भएको वैज्ञानिकहरूले बताउँदै आएका छन् । उनले भने, ‘नेपालमा कोरोना सङ्क्रमणको दर कम हुँदा प्रतिष्ठानको कोभिड अस्पताल खालीजस्तै भएको थियो तर, दोस्रो लहरसँगै भर्ना हुनेहरूको सङ्ख्यामा वृद्धि भएको छ । यही दरमा वृद्धि हुने हो भने कोभिड अस्पताल चाँडै भरिन्छ ।’ 

प्रतिष्ठानमा १५ आइसियु, २५ हाईडिपेण्डेन्सी युनिट (एचडियु) र ६० जनरल बेड रहेका छन् । ती बेडहरूमा प्रतिष्ठानले अक्सिजन आपूर्तिका लागि अक्सिजन प्लाण्टबाटै जोडिएको अक्सिजन पाइपलाइन जोडेको डा. पोखरेलले बताए । गम्भीर भएर उपचारका लागि आउनेमध्ये सयजना सङ्क्रमितलाई थेग्ने गरी सबै मेडिकल जनशक्ति र उपकरण तयारी भए पनि त्यसपछि सिर्जना हुने अवस्थाका लागि भने कुनै तयारी छैन । सुरुवाती समयमा सरकारले करोडौं रुपैयाँ खर्च गरेर तयार गरेका क्वारेण्टीन स्थल र आइसोलेसन पनि अहिले छैनन् ।

यसैबीच सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले नेपाल–भारतबीच खुला सिमाना भएकाले सङ्क्रमितको सङ्ख्या बढेको बताएका छन् । सीमामा आवत–जावतमा कडाइ गरेको भए पनि खुला सिमाना भएकाले सबैतिर आवत–जावतमा नियन्त्रण गर्न नसकिएको प्रजिअ ढकालले बताए । प्रजिअ ढकालले भने, ‘पछिल्लो समयमा सुनसरीमा ५८ जनामा कोरोना सङ्क्रमण पुष्टी भइसकेको छ । सङ्क्रमितको सङ्ख्या बढेकाले जिल्ला प्रशासनको समन्वयमा विद्यालय, हाटबजार, भेला हुने कार्यक्रम बन्द गर्न स्थानीय तहलाई जिम्मा दिइएको छ ।’

बन्द गर्ने वा खोल्ने अधिकार स्थानीय तहलाई दिइए पनि इनरुवा नगरपालिकाले मात्र आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय सञ्चालनमा रोक लगाएको छ । इनरुवा–५ बलाहास्थित नवयुग बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षीय एक बालकमा कोरोना सङ्क्रमण भएको पुष्टी भएपछि नगरका अन्य विद्यालयहरू पनि बन्द गरिएको हो ।

ती बालकका आमा र बाबु दुवैजनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । बालकलाई पनि उच्च ज्वरो आएपछि विराट टिचिङ हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । हाल उनीहरू सबै होम क्वारेण्टीनमा बसेको र निको हुने क्रममा रहेको मेहताले बताए ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा बढी इटहरी उपमहानगरपालिकामा २० जना, धरान उपमहानगरमा १५ जना र इनरुवा नगरपालिकामा ५ जना कोरोना सङ्क्रमित थपिएको बताइन् । आफ्नो क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरूलाई दिए पनि सुनसरीका इनरुवाबाहेक अन्य ११ स्थानीय तहले भने हालसम्म कुनै निर्णय गर्न सकेका छैनन् । 

निजी र सामुदायिक विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका पदाधिकारी जनप्रतिनिधिहरू भने कोरोना सङ्क्रमणको दर वृद्धिको पर्खाइमा रहेको जस्तो देखिएको छ ।