वराहक्षेत्र नगरपालिकाको कालाबञ्जरबाट सशस्त्र वन गस्ती टोलीले साखु (सखुवा) जातको काठ बरामद गरेको छ ।
सशस्त्र सुरक्षा बल पोस्ट चक्रघट्टीले आज (सोमबार) बिहान सवा ४ बजे पाएको विशेष सूचनाका आधारमा कालाबञ्जरस्थित तीनजुरे काष्ठ उद्योग अगाडिबाट काठ बरामद गरेको जनाएको छ ।
साखु जातको काँचो अवस्थामा रहेको २ थान गोलाई बरामद भएको वन कार्यालयको सशस्त्र सुरक्षा बल टोलीका जमदार पर्शुराम पाण्डेले जानकारी दिए ।
‘नापजाँच गर्दा ५८ बाइ ७ को १ थान र अर्को ५३ बाइ ७ को काँचो अवस्थामा रहेको दुईवटा गोलाई बरामद गरिएको हो,’ जमदार पाण्डेले भने, ‘काठ मिल अगाडिबाट बरामद गरिएकाले कसले ल्याएको हो, वा राखेको अनुसन्धान भइरहेको छ ।’

जमदार पाण्डेले ती काठ बेवारिसे. अवस्थामा फेला परेको बताए । फेला परेको काठ ३३ क्युबिक फिट रहेको छ । साखु जातको उक्त काठ स्थानीय बजारमा न्युनत्तम ४ हजार रुपैयाँ प्रति क्युबिक फिट बिक्री भइरहेको छ ।
काष्ठ उद्योग अगाडि फेला परेकाले उद्योगीलाई नियन्त्रणमा लिन नसकेको पाण्डेको भनाइ छ ।
उद्योग सञ्चालक दिनेश विष्टले हप्ता दिन अघिदेखि मिल बन्द रहेको बताए । ‘लकडाउनले मिल बन्द छ, स्टाफ पनि छुट्टीमा छन्, बेलुका ल्याएर कम्पाउण्डभन्दा बाहिर झारेको रहेछ, वन कार्यालयले खोजी गरिरहेको छ, मलाई फसाउने नियत हो कि ? म पनि छक्क परिरहेको छु,’ उद्योग सञ्चालक विष्टले भने । उक्त काठ नडाहा वन कार्यालयले लगेको उद्योगी विष्टले बताए ।
३–४ दिनदेखि काष्ठ उद्योग बन्द रहेको जानकारी पाएकाले थप अनुसन्धान भइरहेको जमदार पाण्डेले बताए ।
बरामद काठलाई डिभिजन वन कार्यालय नडाहा लाने तयारी गरिएको जमदार पाण्डेले जानकारी दिए ।
काठको बीच भागका गोलाईमात्र फेला परेकाले बाँकी काठका बारेमा पनि थप अनुसन्धान हुने उनले बताए ।
कालाबञ्जरमा अमाहा, जनजागृति लगायतका सामुदायिक वन रहेका छन् । निषेधाज्ञाको मौका पारी तस्करहरुले लकडी ढुवानी गर्ने गरेको स्थानीयले बताएका छन् ।