बुद्धशान्ति गाउँपालिकाका खरिदार दीपक नेपाललाई मोटरसाइकलले ठक्कर दिने चालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाललाई ठक्कर दिने मे ७ प ४५१५ नं मोटरसाइकलका चालक बुद्धशान्ति ३ बस्ने २७ वर्षीय गिरीराज थापा, पछाडि सवार सोही ठाउँका २७ वर्षीय शिवराज राईसँगै आएको को २ प ६३१५ नं को मोटरसाइकलका चालक २८ वर्षीय प्रकाश धिमाल, पछाडि सवार २८ वर्षीय महेश धिमाल र मोटरसाइकल धनी २४ वर्षीय विपिन चेम्जोङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाए ।
बुद्धशान्ति गाउँपालिका १ पुल चोक बस्ने ३७ वर्षीय नेपाललाई वैशाख २४ गते राति मोटरसाइकलले ठक्कर दिई फरार भएका थिए । बुद्धशान्ति १ शान्ति चोकस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले राति साढे ८ बजे सडकमा हिंडिरहेका नेपाललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइएको र उपचारको क्रममा मृत्यु भएको थियो ।
दुईवटा मोटरसाइकल अगाडि पछाडि हुँदै आउँदै गर्दा मे ७ प ४५१५ नं मोटरसाइकलले नेपाललाई ठक्कर दिएको थियो । ठक्कर दिएर उनीहरु फरार भएका थिए । चालक थापालाई सवारी ज्यान कसूर र सहयोगी चारजनालाई सार्वजनिक न्यायविरुद्धको कसूरअन्तर्गत मुद्दा चलाइएको डिएसपी थापाले जानकारी दिए ।