धरान । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ मा पर्ने ओख्रेमा एकै गाउँका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गाउँभर स्थानीयहरुमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएपछि ५१ जनाको पिसिआर परिक्षण गर्दा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको साँगुरीगढी गाउँपालिका–५का वडअध्यक्ष पलक बस्नेतले जानकारी दिए । सुरुमा १७ जनाको परिक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको र पछि अरुको पनि गराउँदा २४ जना पुगेको वडाअध्यक्ष वस्नेतले बताए ।

गाउँमा गत वैशाख १७ गते भएको विवाह भोजबाट कोरोना फैलिएको आशंका छ । गाउँमा कोरोना फैलिएपछि साँगुरीगढी गाउँपालिकाले जेठ ४ देखि १५सम्म ओख्रो क्षेत्र सिल गरेको छ । गाउँपालिकाको सूचनामा भनिएको छ, ‘पूर्वमा बालुवा कोइरी, उत्तरमा पैरे खोला र ओख्रे खोला, पश्चिममा धारे डाँडा र दक्षिणमा मोरङ जिल्लाको सिमानाको चार किल्लाभित्र पूर्ण रुपमा सिल गरिएको छ ।’

गाउँमा सङ्क्रमण फैलिएपनि गाउँपालिकामा एउटा एम्बुलेन्स समेत नहुँदा सङ्क्रमितको उपचारमा समस्या भएको नेपाली काङ्ग्रेसको धनकुटा क्षेत्र नं.१का सभापति जीतेन्द्र रुम्दालीले बताए । 

गाउँपालिका अध्यक्ष कुमारजङ्ग याक्खा भने गाउँकै खाली रहेको स्कुल भवनमा आईसोलेसन बनाउने तयारी गरिरहेको र एम्बुलेन्सको पनि व्यवस्थापनमा लागेको बताउँछन् ।