झापाको गौरादह नपा–४ को एक बिहेघरमा फैलिएको कोरोना संक्रमणले बेहुला र बेहुलाकी आमाको ज्यान लिएको छ ।
संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार संक्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी त्यस अस्पतालमा उपचारत थिए ।
यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियोे । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई संक्रमण देखिएको थियो ।

त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । बिहे कार्यमा असवाधानी हुँदा ताजपुरिया जनमा संक्रमण सरेको हुनसक्ने उनले बताए । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
– रासस