इनरुवा/ विपी प्रतिष्ठान धरानमा अक्सिजन अभाव भन्ने विषयमा प्रकाशित भैरहेको समाचार प्रति सुनसरी प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशासनले सुनसरीमा अक्सिजनको पर्याप्तता रहेको भन्दै विपी प्रतिष्ठानमा उपचारमा समस्या परेको भन्ने विषय निराधार रहेको जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले राजधानी लगायतका स्थानमा अक्सिजन पठाउँदै आएको सुनसरीमा त्यस्तो कुनैपनि समस्या नरहेको स्पष्ट परेकाे छ ।

उनले तत्काल एक, डेढ सय सिलिण्डर अक्सिजन चाहिए पनि जिल्लामा उपलब्ध हुने अवस्था रहेको बताए । प्रजिअ ढकालले विपी प्रतिष्ठानले कसरी र कुन मनसायले विज्ञप्ती प्रकाशित गर्यो भन्ने विषय उपर छानविन हुने समेत बताए ।

ढकालले सामाजिक विकास मन्त्रालयले समेत सो विषयलाई चासोका रुपमा हेरेको बताए ।

ढकालले प्रतिष्ठान मार्फत जारी विज्ञप्तीलाई आधार बनाई विभिन्न शिर्षकमा समाचारहरु प्रकाशित हुँदा सर्वसाधारणमा नकारात्मक सन्देश प्रवाह हुन पुगेको जनाएको छ ।

प्रजिअ ढकालले विपी प्रतिष्ठानलाई तत्कालै अर्को विज्ञप्ती प्रकाशित गरी वास्तविकता बाहिर ल्याउन भनेको जानकारी दिए ।