धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित बालकको जटिल किसिमको शल्यक्रिया गरिएको छ । 

भारत बिहार राज्यका ६ वर्षीय बालकको बुधबार साँझतिर ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । बालक चारदिनदेखि अत्यधिक टाउको दुखाइ र दुईदिनदेखि ज्वरो समेत देखा परेको थियो । 

बालकलाई मंगलबार राति विराटनगरको एक अस्पतालबाट रेफर गरी धरान ल्याइएको थियो । उनको हातखुट्टा नचल्ने र आँखा नखोल्ने जस्तो अचेत अवस्थामा रहेका थिए । बाल रोग विभागको आकस्मिक कक्षमा उपचारको लागि ल्याइएका उनको परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

एमआरआई गरेर हेर्दा उनको मस्तिष्कमा मासु पलाएको तथा पानी जम्मा भएको देखिएपछि उनको शल्यक्रिया गरिएको थियो । यस्तो रोगलाई चिकित्सकीय भाषामा क्रेनिओफनिर्जिओमा भनिन्छ । उनलाई न्यूरो सर्जन डा. आलोक दाहालको नेतृत्वको टिमले उपचार गरेको छ । उनीसहित सर्जरी विभागका डा. निमेष, डा. सुशिल, तथा एनेस्थेसिया विभागका डा. आशिष सुवेदीलगायतको ६ जनाको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको हो । 

बिरामीको खप्परको हाडमा प्वाल पारी (क्रानिओटोमी) भित्री मस्तिष्कको दाहिने फ्रन्टल लोबे र देब्रे परिन्टल र टेमपोरल लोबेमा मासु तथा पानी जम्मा रहेको थियो । निकालिएको मासुको टुक्रालाई थप परीक्षणका लागि प्रतिष्ठानको ल्याबमा पठाइएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलले जानकारी दिए । शल्यक्रियापश्चात् बिरामीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।